‘३ दिन सम्म नाकामा कुर्दा नाराबाजी गर्दा पनि आउन नपाएपछि महाकालीमा हाम फाल्यौ’

बुधबार, १९ चैत्र २०७६, ०८ : ०१
‘३ दिन सम्म नाकामा कुर्दा नाराबाजी गर्दा पनि आउन नपाएपछि महाकालीमा हाम फाल्यौ’

काठमाडौं । मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए । केहीबेरमै वारि किनार आइपुगे ।

उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि आएलत्तगै प्रहरीले पक्राउ गर्‍यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए । 

उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए । 

‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’

बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो । 

अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ ।

‘परिवार धान्न भारत जानुपर्‍यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने रु’ उनले भने, ‘बालुवाकोटमा खानबस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी–३ र पुर्चौडी नगरपालिका–३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् । 

पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् । अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी–८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौँ अलपत्र परेको बताउँछन् । भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको बताए । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिएको भनिए पनि अव्यवस्थित रहेको उनले बताए । ‘पारि खाने र बस्ने व्यवस्था छ भनेर के गर्ने, भिडभाड र फोहोरले झन् संक्रमणको डर छ । हामीले त त्यही डरले आइतबारदेखि केही खाएको छैन,’ उनले भने । 

कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेको छ । तर, नेपालले सीमामा आएर चिच्याइरहेका नागरिकलाई देश छिर्न दिएको छैन । आफ्ना नागरिक ल्याएर सुरक्षित राख्नुपर्नेमा प्रशासनले सीमा क्षेत्रमै अलपत्र छाडेको छ । दार्चुला जिल्ला प्रशासनले आत्तिएर ज्यान जोखिममा नपार्न चेतावनी दिँदै हाल रहेकै ठाउँमा सुरक्षित बस्न भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने, ‘अहिले जो जहाँ छ, त्यहीँ बस्नुको विकल्प छैन ।’

तर, प्रशासनले सीमानाकाबाट भित्रिन रोक्दा गलत तथा जोखिमपूर्ण बाटो प्रयोग गरेर भित्रिने बढिरहेका छन् । यसले गाउँमा संक्रमणको जोखिम बढाएको छ । सोमबार र मंगलबार महाकाली तरेर ४० जना भित्रिएकामा १० जना सम्पर्कमै छैनन् । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस