घरमै बसेर प्रार्थना गर्न मुस्लम धर्मावलम्बीलाई आह्वान

एजेन्सी

शुक्रबार, १४ चैत्र २०७६, २० : ००
घरमै बसेर प्रार्थना गर्न मुस्लम धर्मावलम्बीलाई आह्वान

फाईल फोटो

काठमाडौं । मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ । 

मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो ।

जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले शुक्रवार आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त मुसलमान धर्मावलम्बीहरुलाई आग्रह गर्नुभएको हो । उहाले भन्नुभयो “मस्जीदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु ।”

मुस्लीम धर्मावलम्बीहरूले हरेक दिन पाँच पटक प्रार्थना गर्दछन् । “सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ” उहाले भन्नुभयो । सरकारी निकायहरुको आग्रह र निर्देशनलाई समेत मध्यनजर गर्दै यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताउनुभयो ।