कोरोना भाईरस : विदेशमा रहेका नेपालीका लागि के गर्दै छ सरकार ?

राजदुतहरुको ब्रिफिङमा के थियो ?

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १९ : ०३
कोरोना भाईरस : विदेशमा रहेका नेपालीका लागि के गर्दै छ सरकार ?

फाईल फोटो

काठमाडौं । विश्व्मा महामारीको रुप लिँदै गएको कोरोना भाईरसका कारण विदेशमा बस्ने नेपालीहरु समेत प्रभावित छन् । अमेरिकामा एक नेपालीको मृत्यु समेत भएको छ । अन्य देशमा पनि नेपालीमा रोगको संक्रमण भएको पुष्टि भएको थियो । विश्वका विभिन्न मुलुकमा रहेका ४३ लाख युवा जनशक्ति नेपालका महत्वपूर्ण उर्जावान व्यक्ति हुन् । उनीहरुको ख्याल राख्नु पनि सरकारको दायित्व हो ।

 त्यसैले स्वदेशमा झैँ विदेशमा रहेका नेपालीहरुको सुरक्षाका लागि सम्बन्धीत देशको राजदुताबास मार्फत उनीहरुको समूयामा ध्यान दिनु जरुरी छ । आजमात्रै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा काम गर्न गएका नेपाली नागरिकको स्वास्थ्यको बारेमा चासो राखेका छन ।

देशको कुल गार्हस्थ उत्पादनमा टेवा दिएर रेमिट्यान्स पठाउने नेपाली नागरिक देशका लागि जुनसुकै बेला महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले स्वयं सावधानी अपनाउन विदेशमा रहेका नेपालीहरुलाई आव्हान गरेका छन् । 

अबस्थाबारे राजदुतमार्फत जानकारी माग
मन्त्री ज्ञवालीले सरकारका तर्फबाट मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिका स्थित नेपालीको बारेमा भिडियो सम्मेलनमार्फत राजदुतसँग जानकारी मागे । 

उनले त्यस क्षेत्र स्थित नियोगप्रमुखहरूसँग कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्थाको बारेमा पनि जानकारी लिए । आज सिंहदरबारमा आयोजित भिडियो छलफलमार्फत उनले कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा छलफल गरेका हुन् । उनले कुनै विपत परेमा तत्काल सम्बन्धित राजदूतावासमा सम्पर्क गरेर सहयोग लिन अपिल गरेका छन् ।

छलफलको क्रममा नियोगप्रमुखहरूले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरूमा भएको संक्रमणको अवस्थाबारे मन्त्री ज्ञवालीलाई अवगत गराएका थिए ।
त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरू, नेपाली नागरिकहरूको अवस्था, दूतावासले नेपाली नागरिकलाई र्पुयाइरहेका नियमित र आकस्मिक सेवा लगायतका बारेमा समेत उनीहरुले जानकारी दिए । 

सो अवसरमा माननीय परराष्ट्र मन्त्रीले नेपाल सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा नियोगप्रमुखहरूलाई अवगत गराउँदै नेपाली नागरिकको सुरक्षाका लागि प्रतिवद्ध रहन निर्देशन दिए । 

उनले आफू प्रमाणीकृत मुलुकहरूमा भएका संक्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन गर्ने, नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही उनिहरुको तलब तथा सामाजिक सुरक्षाको निरन्तरताको पहल गर्न, नेपालीहरूलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न सुझाए । उनले यस बारेमा सुसूचित गराउने तथा नेपाली समुदाय र दूतावास परिवार समेत सक्रमणका बारेमा जागरूक रही सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्न निर्देशन दिए ।

भिडियो सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले नेपाली राजदूतावासप्रति अहिलेको संवेदनशील र अप्ठेरो परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले ठूलो भरोसा राखेकाले उनीहरुले स्थानीय सरकार एवं रोजगारदातासंग समन्वय गरेर परिआउने समस्या र चुनौतीहरुको सामना गर्न आग्रह निर्देशन दिए ।

सबैतिर सीमाना समेत बन्द रहेका अवस्थामा परिवारबाट टाढा रहेका नेपालीको ख्याल गर्न सरकारले पहल गरिरहेको सन्देश मन्त्री ज्ञवाली र यादवले भिडियो सम्मेलनमार्फत दिएका हुन् ।
नेपालमा भने आजसहित गरेर तीनजनामा कोरोना भाइरस लागेको पुष्टि भएको छ । सरकारले लकडाउन गरेर भाइसर फैलन रोक्ने प्रयास जारी रोखको छ ।

प्रतिक्रिया दिनुहोस