नेताका निवास सुनसानः भेटघाट ठप्प, घरमै ‘सेल्फ क्वारेन्टाइन’

प्रधामन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति देउवा, माधव नेपाल, वामदेव गौतम, लगायतका वरिष्ठ नेताहरु अहिले लेखपढसँगै परिवारसँग बसेर समय कटाउने गरेका छन्

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १० : १५
नेताका निवास सुनसानः भेटघाट ठप्प, घरमै ‘सेल्फ क्वारेन्टाइन’

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्नका लागि आजबाट देशभर लकडाउन गरेको छ । भीडभाड नगर्न, आफ्नै घरभित्र मात्र बस्न सरकारले आह्रवान गरेपछि राजनीतिक दलका नेताहरु पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन् । नेताहरुले भेटघाट ठप्प बनाएका छन् । कोही कसैसँग पनि अहिले भेटघाट गरेका छैनन् ।

जरुरी भेटघाट यदाकदा गर्ने गरेपनि त्यसलाई पनि सक्दो टेलिफोनबाट नै गर्ने र भेटघाटलाई निस्तेज गर्ने काम गर्दै आएका छन् । नेकपा अध्यक्ष प्रचण्डले गत बिहिबारबाट नै अत्यावश्यक बाहेक अन्य भेटघाट पूरै बन्द गरेका छन् । उनी अहिले घरमै परिवारका साथ बसिरहेका छन् । बिहान ५ वजे उठेयता आधा घण्टा गीत संगीत सुन्ने, त्यसपछि घर कम्पाउण्डमै पसिना आउने गरी टेबुलटेनिस खेल्ने, साइकल चलाउने र त्यसपछि नुहाउने र परिवारका सदस्यसँग गफिएर बस्ने काम अहिले प्रचण्ड गरिरहेका छन् । 

प्रायः निवासमा रहेका बेला दिउँसो फूर्सद मिल्दा दिउँसो १ देखि ३ बजेसम्म अध्ययन गर्ने गरेका प्रचण्डले अध्ययन गर्ने समय अलिक बढी निकालेका छन् । उनी इतिहास र दर्शनसँग सम्बन्धित किताबहरु अध्ययन गरेर अहिले बसिरहेका छन् । उनले हिजो सोमबार पनि कोही कसैसँग पनि भेटघाट गरेनन् । परिवारसँग मात्र बसेका थिए । प्रधानमन्त्री केपी ओली मृगौला पूनः प्रत्यारोपणका कारण यसै पनि प्रधानमन्त्री निवासमा आराम गरि बसिरहेका छन् । त्यसमाथी कोरोनाका कारण पनि उनले भेटघाट गरिरहेका छैनन् ।

आफ्नै सचिवालयका सदस्यहरुमा पनि अत्यावश्यकहरुलाई मात्र भेट्ने र अन्यसँग अहिले उनले भेटघाट गरिरहेका छैनन ।  सरकारका लागि गर्नेपर्ने केही काम, योजना र निर्देशनका लागि उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र गृहमन्त्री रामवहादुर थापासँग यदाकदा भेट गर्ने गरेका छन् । ओलीका लागि आराम गर्ने उपयुक्त मौसम पनि अहिले मिलेको छ । नत्र रोग बोकेरै भएपनि सक्रिय हुन चाहने ओलीको बानीलाई कोरोनाले आराम गर्ने राम्रो अवसर भने मिलेको छ । त्यसकारण पनि उनी बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि घरमै अध्ययन गर्ने र परिवारसँग बस्ने गरेर समय बिताईरहेका छन् । उनी पार्टीसँग सम्वन्धित काम र योजनाका बारेमा नेताहरुसँग आवश्यक पर्दा टेलिफोनमार्फत सम्र्पकमा छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सोमबार बिहान केही कार्यकर्तालाई भेटघाट गरेपनि त्यसपछि भेटघाट रोकेका छन् । उनी पनि निवासमा लेखपढ गर्ने काममा लागेका छन् । समय कटाउन अधिकाशं नेताहरुले लेखपढलाई माध्यम बनाएका छन् ।  वामदेव गौतमले पनि केही दिन यता कसैसँग पनि भेटघाट गरेका छैनन् । उनलाई दिनहँु जसो भेट्न पुग्ने नेता बलराम बाँस्कोटा र हरि पराजुलीसँगको भेटघाट पनि गौतमले अहिले रोकेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारका तर्फबाट गर्नुपर्ने तयारी र गृहमन्त्रालयले दिनुपर्ने निर्देशन र योजनाका आवश्यक छलफल बाहेक अन्य भेटघाट बन्द गरेका छन् । पूर्व प्रधानमन्त्री तथा काँग्रेस नेता शेरबहादुर देउवाले पनि भेटघाट बन्द गरेका छन् ।

उनको निवास पनि अहिले सुनसान छ । घरमै परिवारसँग उनले समय बिताईरहेका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले टेलिफोनमा जरुरी कुरा भए गर्ने अन्यथा सबै खाले भेटघाट बन्द गरेका छन् । 

प्रतिक्रिया दिनुहोस