विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भन्यो : नेपालको कोरोना परिक्षण चित्तबुझ्दो छ, क्षमता तत्काल बढाउनुपर्छ’

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, ०८ : ४६
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भन्यो : नेपालको कोरोना परिक्षण चित्तबुझ्दो छ, क्षमता तत्काल बढाउनुपर्छ’

file photo

काठमाडौं । विश्वव्यापी रुपमै महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको परीक्षण नेपालमा चित्त बुझ्दो रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालयले टेकुमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस परीक्षण चित्तबुझ्दो रहेपनि क्षमता भने तत्काल बढाउनुपर्ने उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयको अनुरोधमा नेपाल आएका डब्लुएचओका प्रतिनिधि डा जोनाथन आस्क्रोफ्टको प्रतिवेदनका आधारमा उसले हाल नेपालको कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको, ल्याब उपकरण र जनशक्ति क्षमतावान रहेको उल्लेख गर्दै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने बताएको हो।

संगठनले नेपाल सरकारको आग्रहमा नेपालस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म जोनाथनलाई खटाएको थियो। डा जोनाथनले प्रयोगशालाको अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा संगठनले सोमबार नेपाल सरकारलाई सुधारको सिफारिससहित पत्र पठाएको हो।

पत्रमा तत्काल ‘कोरोनाको नमुना परीक्षण क्षमता विस्तार गर्नुपर्ने उल्लेख छ’ भने नेपालको परीक्षण विश्वसनीय भएको बताएको छ।  कोरोना भाइरसको नमूना परीक्षणका लागि हाल केन्द्रीय प्रयोगशालामा मात्र भएको समेत संगठनले उल्लेख गरेको छ। प्रयोगशालाको उच्च गुणस्तरीय परीक्षण भएको र सबै परीक्षणका क्रममा सबै प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ।

कोराना भाइरसको परिक्षण सबैभन्दा बढी अहिले टेकु स्थित प्रयोगशालामा हुंदै आएको छ । नेपालमा अहिले सम्म २ जनामा कोरोनाको संक्रमण देखिएको त्यसमध्ये एकजन उपचार पछि निको भएर फर्किसकेको अवस्था छ भने सोमबार हिजो मात्रै फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षिय युवतीमा यसको संक्रमण देखिएको छ । उनको आईसोलेसन वार्डमा उपचार थालिएको छ । 

प्रतिक्रिया दिनुहोस