कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

आइतबार, ०९ चैत्र २०७६, १७ : ०९
कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

–वासुदेव पौडेल

पोखरा । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छे« हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका वरपरका तालतलैयामा पर्यटक झुम्मिएका हुन्थे यो मौसममा । अहिले ती दृश्य पनि कतै देख्न पाइँदैन । न त लेक साइडमा बिहानीपखको हिँडाइ (मर्निङ वाक) मा स्वदेशी तथा विदेशी पर्यटक भेटिन्छन् ।

जनवरीदेखि ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक आउने मुख्य याम हो पोखराको । अहिले भने पोखरा सुनसान छ । पर्यटकको चहलपहल त के एकाध जना पनि देखिँदैनन् । विगतमा समूह समूहमा देखिने विदेशी पर्यटकमात्र नभएर यतिखेर आन्तरिक पर्यटक पनि देखिन छोडेका छन् । विदेशी पर्यटकको उल्लेख्य उपस्थितिमा तँछाडमछाड गरेर रङ्ग छ्यापाछ्याप गर्दै पोखराको लेकसाइडमा रमाउँदै खेलिने होली पनि यस वर्ष त्यसै बित्यो । रङ्गविहीन बन्यो यस वर्षको पोखराको होली ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कहर पोखराको पर्यटन व्यवसायले पनि भोग्दैछ । यही प्रकोपका कारण यहाँको पर्यटनमा सरकार र निजी क्षेत्रले खर्चिएको खर्बौंको लगानी जोखिममा परेको छ । नियमित मात्र नभएर यस वर्ष भ्रमण वर्षका लागि पनि यहाँका होटललगायतका सेवा क्षेत्र बाढीभन्दा बढी पर्यटक भित्र्याउने तयारीमा थिए । त्यसैबमोजिमका पूर्वाधार पनि उनीहरुले तयार पारेका थिए । तर यतिखेर सबै लगानीकर्ता निराश बनेका छन् । ती सबै पूर्वाधारले पर्यटकलाई स्वागत गर्न पाएका छैनन् ।

प्रकृतिको वरदान पोखरा गण्डकी प्रदेशको मात्र नभएर नेपालकै पर्यटनको केन्द्र पनि हो । यहाँको पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी गण्डकी प्रदेश सरकारले सङ्घ सरकारसँग पर्यटनको राजधानी घोषणा गर्न माग गरिसकेको छ । स्वदेशी एवं विदेशी पर्यटकको बाक्लो उपस्थिति हुने यस समयमा कोरोनाका कारण उनीहरूको आगमन रोकिएको होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेल बताउनुहुन्छ ।

कोरोनाको सङ्क्रमण शुरु भएयता विभिन्न देशबाट पर्यटकले गरेको अग्रिम बुकिङ पनि रद्द भएका छन् । “यस समयमा विशेष गरी चाइनिज र युरोपियन मुलुकबाट विदेशी पर्यटक ठूलै सङ्ख्यामा आउने गर्दथे,” उहाँले भन्नुभयो, “कोरोनासँगै उनीहरूको आगमन ठप्प भएको छ, भएका बुकिङ पनि रद्द भएका छन् ।”

कोरोना महामारीका कारण यससँग बेलैमा सचेत बन्नु अहिलेका आवश्यकता भएको बताउँदै उहाँले यो समयमा कुनै विकास निर्माण, नीति निर्माणभन्दा पनि यो महामारी भित्रिन नदिन सम्बद्ध निकाय सक्रिय बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालमा पर्यटन क्षेत्रले शृङ्खलाबद्ध विभिन्न अवरोध झेल्दै आएको पर्यटन व्यवसायी बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पसहित त्यसयता भएका नाकाबन्दी, टर्किस् एयरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेङ्गु, बर्डफ्लू, बाढीपहिरोजस्ता धेरै घटनाक्रमले पर्यटन क्षेत्रलाई पटकपटक मारमा पारेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ ९निट० गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताउनुभयो ।

धेरै किसिमका व्यवधान झेल्दै आएको पर्यटन क्षेत्र यसपटक पुनःविश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको मारामा परेको उहाँले बताउनुभयो । “यो अन्य प्राकृतिक प्रकोप जस्तो होइन, महामारी हो”, थापाले भन्नुभयो, “यसबाट बच्न पहिलो त यसप्रतिको सचेतता नै हो, सम्भाव्य जोखिम न्यूनीकरणका लागि सरकारले बेलैमा आवश्यक प्रविधिसहितका पूर्वाधार तयारी अवस्थामा राख्न जरुरी छ ।”

कोरोना प्रभावसँगै पर्यटन व्यवसायी आर्थिक मारमा परिसकेको बताउँदै उहाँले यो व्यवसायलाई दीगो राख्न र उनीहरूका पीडामा मलमपट्टी लगाउन सरकारले तत्काल राहतका प्याकेज ल्याउनु अपरिहार्य देखिएको बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० मनाउन शुरु गर्दा पर्यटन व्यवसायीले पोखरामा चीनबाट धेरै पर्यटक भित्रिने आशा गरेका थिए । यो याममा विश्वकै चर्चित अन्नपूर्ण चक्रीय पदमार्गमा अघिल्ला वर्षमा पदयात्राका लागि दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका थिए । तर यामको शुरुआतीमा नै पदमार्ग क्षेत्रको हिंकुमा गएको पहिरोसँगै लगत्तै कोरोनाको पभावका कारण विश्व नै तहसनहस भएपछि उक्त क्षेत्रको पदयात्रा पर्यटन पनि पूर्णरुपमा प्रभावित भएको छ ।

अघिल्लो वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल आएकामा चिनियाँ पर्यटकको सङ्ख्या मात्रै एक लाख ६८ हजार थियो । सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएकामा चिनियाँ एक लाख ५३ हजार रहेका थिए । भारतपछिको नेपाल पर्यटक आउने दोस्रो राष्ट्र चीनबाटै शुरु भएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटनमा विशेष प्रभाव पारेको छ ।

नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेको पाइन्छ । सन् २०१९ डिसेम्बरमा १६ हजार ७ सय ६३ जना पर्यटकले गण्डकी प्रदेश ९प्रदेशका ११ जिल्लामध्ये नवलपुरबाहेक० भ्रमण गरेका थिए । त्यसअघि अक्टोबरमा २४ हजार ४७७ र नोभेम्बरमा २५ हजार ३५६ पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

चिनियाँ प्रत्येक नयाँ वर्षमा ठूलो सङ्ख्यामा विदेश भ्रमणमा निस्कने गरेकामा नेपाल पनि राम्रै सङ्ख्यामा आउँथे । त्यस्तै कोरियन र युरोपियन पनि निकै आउँथे । अहिले पोखरामा चाइनिज मात्र नभई अन्य युरोपियन मुलुकबाट आउने पर्यटकको पनि अग्रिम बुकिङ रद्द भइसकेको होटल पिस प्लाजा लेकसाइडका सञ्चालक एवं पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा अप्रिलका लागि गरिएका अग्रिम बुकिङ लगभग शतप्रतिशत नै रद्द भइसकेको छ । यसअघि मार्चमा ७० प्रतिशत अग्रिम बुकिङ रद्द भएको जानकारी दिँदै उहाँले फेब्रुअरीमा ३० प्रतिशत अग्रिम बुकिङ रद्द भएको बताउनुभयो ।

“अप्रिलको बुकिङ लगभग सबै रद्द भए पनि मेका लागि भने अहिल्यै भन्न सकिने अवस्था छैन,” पराजुलीले भन्नुभयो, “नेपालमा कोरोनाको प्रभाव अहिलेसम्म नदेखिएको वास्तविकतामा यहाँ आगामी दिनमा पनि यसको प्रभाव नहुनेमा हामी आशावादी छौँ ।” पोखरामा मात्रै पर्यटकीयस्तरका ७५० होटल सञ्चालित छन् । जसमा कूल ३० हजार ‘बेड’ क्षमता छ ।

कोरोना प्रभावसँगै पर्यटन र यससँग सम्बद्ध होटेल तथा रेस्टुराँ, पर्यटन यातायात, साहसिक खेल सबैमा प्रत्यक्ष प्रभाव पारिरहेको व्यवसायी बताउँछन् । पर्यटकको आगमन ठप्प भए पछि उनीहरूको आवागमनमा गुडेका पर्यटक बसले यतिखेर काम पाउन छोडेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले बताउनुभयो ।

सङ्घमा आबद्ध ४५० वटा पर्यटक बसले पर्यटकको आवागमनमा सहयोग पु¥याइरहेको उल्लेख गर्दै उहाँले कोरोना प्रभावसँगै पर्यटक नभएपछि व्यवसायी मारमा परेको बताउनुभयो । “पर्यटकको अभावमा बस सञ्चालन हुन नसक्दा व्यवसायीलाई बैंकको किस्ता तिर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “व्यवसायीको समस्यालाई दृष्टिगत गर्दै आगामी दिनमा पनि व्यवसायको निरन्तरताका लागि राज्यले यो असहज अवस्थामा सहयोग गर्नु अपरिहार्य छ ।”

राज्यका तर्फबाट व्यवसायीलाई राहत उपलब्ध गराउन तत्काल बैंकको व्याजदर केही घटाइदिनुपर्ने बताउँदै उहाँले कोरोनासँगै ठप्प भएको व्यवसायलाई दृष्टिगत गर्दै बैंकको किस्ता तिर्ने समयावधि एक वर्षसम्म बढाइदिनुपर्ने उहाँले माग गर्नुभयो ।

पोखरा आउने विदेशीमध्ये विशेषगरी चाइनिज, कोरियन पर्यटकका साथै युरोपी विभिन्न मुलुकका पर्यटक साहसिक पर्यटन रुचाउने भए पनि उनीहरूको आवागमन रोकिनुले साहसिक पर्यटनको व्यवसाय पनि ठूलै मारामा परेको हाइग्राउन्ड एड्भेञ्चरका प्रमुख सञ्चालन अधिकृत दिनेश महर्जनले बताउनुभयो । “हाइग्राउन्ड एड्भेञ्चरले सराङकोटबाट हेमजासम्म सञ्चालन गरेको जीपलाइनका साथै हेमजामा सञ्चालित बञ्जीजम्पमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ९० प्रतिशत पर्यटकको कमी आएको छ”, उहाँले भन्नुभयो ।

पर्यटकको आगमन रोकिएसँगै साहसिक पर्यटनका क्षेत्रमा गरिएको ठूलो लगानी पनि जोखिममा परिरहेको उहाँले बताउनुभयो । विश्व्यापी फैलिएको कोराना भाइरसको रोकथाम, यसले पारेका प्रभाव लगायतका विषयमा पर्यटन सम्बद्ध सङ्घसंस्थाले पोखरामा आवश्यक छलफल एवं सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएका छन् ।

केही दिनअघि मात्रै चीनको वुहान प्रान्तबाट फैलिएको महामारीले चीनका साथै विश्वव्यापी पारिरहेको प्रभाव रोकियोस् भन्ने कामना गर्दै पोखरा पर्यटन परिषद्ले पोखराको लेकसाइडमा सद्भावना ¥यालीसहित दीप प्रज्वलन गरेको थियो । विभिन्न छलफलका क्रममा व्यवसायीहरूले घुुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग ठोकिने बताउँदै उहाँले सङ्क्रमणबाट जोगिन सकेसम्म सचेत बन्नुको विकल्प नभएकामा जोड दिँदै आएका छन् ।