कोरोना भाइरसको संक्रमण रोक्न भारतमा आज ‘जनता कर्फ्यू’

आइतबार, ०९ चैत्र २०७६, ११ : ३७
कोरोना भाइरसको संक्रमण रोक्न भारतमा आज ‘जनता कर्फ्यू’

काठमाडौँ । कोरोना भाइरसको त्रास विश्वव्यापी रुपमा महामारीको रुपमा फैलदैं गएपछि भारत पनि यसबाट अछुतो रहन सकेन । भारतमा अहिले सम्म कोरोना भाइरसकै कारण ५ जनाले अकालमा ज्यान गुमाएका छन भने ३ सय ५० जना भन्दा बढी संक्रमित भएका छन् ।

दिन प्रति दिन यसको संक्रमण बढदै जानथालेपछि पुरै भारत भरि आज जनता कर्फ्यू लगाईएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा आज आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफैले ‘जनता कर्फ्यू’को पालना गर्न अपील गरेका थिए । ‘जनता कर्फ्यू’का कारण भारतका शहरहरु सुनसान छन् । रेल तथा बस सेवाहरु बन्द छन् । अधिकांश शहरहरुमा लकडाउनको स्थिति छ। विमानस्थलहरु ठप्प बनेका छन् । अति आवश्यक कामका सवारी साधन बाहेक अन्य केही पनि चलेको छैन् । 

राजधानी दिल्लीमा सडकमा निस्केका केही मानिसहरुलाई ‘जनता कर्फ्यू’ उल्लघंन नगर्न आग्रह गर्दै  प्रहरीले फूल उपहार दिएर घर पठाएका छन् । मोदीले ‘जनता कर्फ्यू’को दौरान बेलुकी पाँच बजे घण्टी तथा थाल ठटाएर कोराना भाइरसविरुद्ध एकजुट रहेको सन्देश प्रवाह गर्न आफ्ना नागरिकलाई अपील गरेका छन् । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस