‘कोरोनाको संक्रमणले रियल  म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान लियो’

आइतबार, ०९ चैत्र २०७६, ०७ : २३
‘कोरोनाको संक्रमणले रियल  म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान लियो’

एजेन्सी । रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको कोरोना संक्रमणपछि ७६ वर्षको उमेरमा निधन भएको छ । पाँच दिनअघि कोरोनाको लक्षण देखिएसंगै  उनलाई स्थानिय अस्पताल भर्ना गरिएको थियो ।  लोरेन्जोका छोरा फर्नान्डो सान्जले हिजो शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् ।

‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’रियल म्याड्रिडले पनि उनको निधन प्रति विज्ञप्ती निकाल्दै दुःख व्क्त गरेका छन् ।  ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ । रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो ।

उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।

कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ । कोराना भाइरसको संक्रमणको शुरुवात देखिएको चीन पछि अहिले युरोप भरि फैलिएको छ । यो भाइरसको संक्रमण १ सय ८० भन्दा बढी राष्ट्रमा देखिसकिएको छ ।