पवन जल्लादको तलब पाँच हजार भारु

एजेन्सी

शनिबार, ०८ चैत्र २०७६, १५ : २४
पवन जल्लादको तलब पाँच हजार भारु

नयाँदिल्ली । ‘निर्भया बलात्कार’ घटनामा संलग्न भएको अभियोगमा चार जनालाई शुक्रबार बिहान ५ बजे फाँसी दिइएको छ । यी चारैजनाको गलामा दिल्लीस्थित तिहाड जेलमा अन्तिमपटक फाँसीको पासो लगाउने र उनीहरुलाई सुलीमा चढाउने काम पवन जल्लादले गरेका हुन् । उत्तर प्रदेश, मेरुका बासिन्दा पवन जल्लादको यो पुर्खौली पेसा हो । 

पवनका अनुसार उनलाई २–४ दिने पहिले जेल प्रशासनले फाँसीका विषयमा जानकारी दिन्छ । हेडक्वार्टरबाट जेल प्रशासनमा चिठी आएपछि उनलाई यसबारे जानकारी दिन्छ । फाँसी दिने समय पहिल्यै तोकिएको हुन्छ । ‘सबै पहिल्यै तय भइसकेको हुन्छ । हामीले आदेश पालना गर्ने हो । आफ्नो काम गर्ने हो’ उनले भने । 

अपराध एउटाले गर्छ, पीडित अर्को हुन्छ । गलामा पासो लगाएर न्याय दिनुपर्ने जिम्मेवारी तपाईँको हातमा आउँदा अर्कैका लागि मैले न्याय दिनुपर्ने जस्तो लाग्दैन ? यस प्रश्नको जवाफमा पवन भन्छन्, ‘म किन बदला वा न्याय दिने, यो काम त जनता हो । म मेरो काम गर्छु । मैले सरकारी पदमा बसेर सरकारको निर्णयमात्रै कार्यान्वयन गर्ने हो ।’

जघन्य अपराध र दुष्कर्म गर्नेलाई फाँसी दिइनुपर्ने उनको भनाइ छ । ‘युवतीहरुसँग घिनलाग्दो हर्कत, र बलात्कार गरिरहेका हुन्छन् भने यस्ता मानिसलाई त फाँसी हुनुपर्छ,’ उनी भन्छन् । 

यसैबीच आफ्नो तलब र सेवासुविधा कम भएको उनको गुनासो छ । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘५ हजार भारु तलब छ । यतिले कसरी गुजारा चल्छ ? ५ छोरी र २ छोरा छन् । मैले २० हजार तलब पु¥याइदिनुस् भनेर धेरैपटक आग्रह गरिसकें ।’

चारजनालाई फाँसीमा झुन्ड्याएबापत यी जल्लादलाई अतिरिक्त रकम प्रति व्यक्ति बराबर २० हजार अर्थात् चार जनाको कुल ८० हजार भारु उपलब्ध गराइने तिहाड जेल प्रशासनले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस