यसरी भएको थियो नेपालमा पहिलोपटक एसएमएस वाइपास...

शुक्रबार, ०७ चैत्र २०७६, ०९ : ५६
यसरी भएको थियो नेपालमा पहिलोपटक एसएमएस वाइपास...

काठमाडौं । कल वाइपास गरेर ठगी गरेका घटना त सबैले सुनेकै हो ।  एसएमएस वाइपासका घटना हालसम्म सुनिएको थिएन । एसएमएस नै वाइपास गरेर ठगी गर्ने घटना पनि हुन्छन् भनेर पत्याउनै पर्ने भएको छ । भर्खरैमात्र एसएमएस बाइपासको घटना प्रहरीले सार्वजनिक गरेको छ ।

आम नागरिकको मोबाइल नम्बर प्रयोग गरि अन्तराष्ट्रिय स्तरमा अवैद्य एसएमएस आदान प्रदान गरेको फेला परेको हो । अर्काको नम्बरबाट एसएमएस पठाएर ठगि गर्ने गिरोह सक्रिय भएका छन् । त्यसैले अब कल बाइपास मात्र हैन एसएमएस बाइपासको मामलामा पनि सबैले सचेत हुनुपर्ने भएको छ । नेपालमा यसरी एसएसमएस वाइपासको घटना पहिलो भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दाबी गरे ।

अवैध अन्तराष्ट्रिय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका २५ टंगाल, नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय प्रशान्त साहलाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानूनी रुपमा अन्तराष्ट्रिय एसएमएस बाईपास संचालन भइरहेको गोप्य सूचना प्रहरीलाई आयो ।

त्यही आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले साहले एसएमएस बाईपास गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने बिभिन्न तार लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । 

विगतमा हुने अवैध अन्तराष्ट्रिय भिओआईपी कल बाईपास गर्ने गरेकोमा प्रहरीको सकृयतामा अपरेशन हुने गरेकोले पछिल्लो समयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक एसएमएस बाईपास गरी नयाँ तरिका अपनाएको पाइएको प्रहरीले जनाएको छ । साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैले लिएर आएको, यसका लागि आवश्यक सिम कार्ड र रिचार्ज कार्ड आफै विभिन्न पसलहरुमा गई बिना कागजात बढी रकम दिई लिने गरेको प्रहरीले खुलाएको छ ।

साथै अनलाइन मार्फत सम्पर्क गरी वल्र्ड लिंकको ईन्टरनेट प्रयोग गरेको, साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि भनी पटक पटक नेपाल आउजाउ गर्ने गरेका थिए । आफै अन्तराष्ट्रिय क्यारियरसँग सम्पर्क  गर्दै एसएमएस बाइपास गर्ने गरेका थिए । अनुसन्धानको क्रममा अन्य व्यक्तिहरुको प्रयोग नगरी आफैले गोप्य रुपमा सम्पूर्ण काम गरेको खुलेको जनाइएको छ । साहमाथि दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस