रेशमलाई भेटेपछि सीके राउतले भने : यस्तो व्यवहार परास्त गर्न एकता गरेरै छाड्छौं

सफल खबर संवाददाता

बुधबार, १७ बैशाख २०८२, १६ : २३
रेशमलाई भेटेपछि सीके राउतले भने : यस्तो व्यवहार परास्त गर्न एकता गरेरै छाड्छौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन् । बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका राउतले सरकारको कदम अलोकतान्त्रिक रहेको बताए ।

‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरू कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो,’ उनले भने ।

डा. राउतले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताएका हुन् । उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले देखाएको प्रतिक्रिया दिए ।

उहाँले यस्तो व्यवहारर्लाइ परास्त गर्न पनि पार्टी एकता गरेरै छोड्ने बताए । उनले भने, ‘यसलाई परास्त गर्न भनेपनि पार्टी एकीकरण गरेरै छोड्छौँ । हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन् । एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्नवाचक चिन्ह रहनेछ ।’

राउतले थपे, ‘आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको छ ।’

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज पार्टी एकता गर्ने कार्यक्रम थियो । प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु पहिला नै संरक्षक चौधरीलाई पक्राउ गरेको हो । पक्राउपछि अहिले चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस