सुनसान छ सौराहा, मुर्झायो मेघौली

सूर्यप्रकाश कँडेल

विहीबार, २९ फागुन २०७६, ११ : २०
सुनसान छ सौराहा, मुर्झायो मेघौली

फाईल फोटो

चितवन । विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा यतिबेला विदेशी पर्यटकको संख्या शुन्य छ । स्वदेशी पर्यटकको आगमन पनि ह्वात्तै घटेपछि सौराहाका होटल व्यवसायीले कामदारलाई घरबिदामा पठाउन थालेका छन् ।

क्षेत्रीय होटेल संघ सौराहा, चितवनका अध्यक्ष दिपक भट्टराईले कोरोना भाइरसको त्रासका कारण सिजनको बेला सौराहा सुनसान हुन पुगेको बताए । ‘सिजनमा ६५ प्रतिशत अकुपेन्सी हुने सौराहामा अहिले मुश्किलले १५ प्रतिशत अकुपेन्सी छ’ उनी भन्छन्, ‘सिजनमा ४० प्रतिशत चिनियाँ, ४० प्रतिशत नेपाली र अन्य देशका २० प्रतिशत पर्यटक आउँथे । अहिले विदेशी पर्यटक छँदै छैनन् ।’ पर्यटक नै नआएपछि सौराहाका होटल व्यवसायीहरुले बाध्य भएर आधा कामदारलाई आधा तलब दिने गरी घरबिदामा पठाउन थालेको उनले जानकारी दिए ।

पर्यटकीय हिसाबले चितवनलाई नेपालको तेस्रो गन्तव्य मानिन्छ । काठमाडौँ र पोखरापछिको पर्यटकीय गन्तव्य चितवन आउने आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाई सौराहा नै हो । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यापर्यटनका लागि प्रसिद्ध छ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, दुर्लभ पाटेबाघलगायतका वन्यजन्तु र यहाँका आदिवासी थारुको जीवनशैली र सँस्कृति अवलोकन गर्न पर्यटकहरु सौराहा आउँछन् । 

रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सौराहा यसअघि भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पले सुनसान बनेको थियो । सौराहामा रहेका एक सय २० भन्दा बढी होटेलमा पाँच हजार पाँच सय बेड क्षमता छ ।

सौराहापछिको पर्यटकीय गन्तव्य मेघौलीमा पनि पर्यटक आगमन घटेको छ । विदेशी पर्यटक आउने मेघौली सेराई र बाराही जंगल लजमा कोठाहरु रित्तै छन् । विदेशी पर्यटकहरुको बुकिङ सबै रद्द गरिएका छन् । न्यून संख्यामा नेपाली पर्यटक रात बिताउन आउने गरेका छन् ।

बाराही जंगल लजका महाप्रबन्धक वरुण कुमार आफूकहाँ नेपाली पर्यटकमात्र रहेको जानकारी दिँदै भन्छन्, ‘७० प्रतिशत विदेशी पर्यटकले बुकिङ रद्द गराएका छन् । कूल ४१ बेडमध्ये पाँच बेडमात्र अकुपाई भएको छ ।’ पर्यटक नभएपनि कामदारलाई छुट्टी दिनेबारे अहिले नसोचेको उनी बताउँछन् । ‘दुई–तीन हप्ता अरु हेरौँ, के हुन्छ ?’ उनी भन्छन्, ‘त्यसपछि मात्र कामदारलाई के गर्ने भन्नेबारे निर्णय लिन्छौँ ।’ 

भरतपुरको चौबीसकोठीबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली क्षेत्रमा रहेका १० होटलमा ३ सय ५५ जना र १० वटा होमस्टेमा ८० जना पर्यटकलाई खाने र बस्ने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस