शेयर बजार : तेस्रो सर्किटसहित कारोबार बन्द

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०७६, १४ : ५९
शेयर बजार : तेस्रो सर्किटसहित कारोबार बन्द

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ६ प्रतिशतले घटेपछि मंगलबार कारोबार बन्द भएको छ । गत साता पनि शेयर बजार अधिकतम घट्ने क्रममा कारोबार नै बन्द भएको थियो ।

बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको सेयर कारोबारमा एक घण्टा नपुग्दै ४ प्रतिशतले घटेको थियो । त्यसपछि पहिलो पटक सर्किट लागेको थियो ।

दोस्रो पटक खुलेको बजार ५ प्रतिशत घटेपछि पुनः सर्किट लाग्यो । बजार तेस्रो पटक खुल्दा ६ दशमलव ०२ प्रतिशतले घटेपछि बन्द भएको हो ।

कारोबार शुरु भएको एक घण्टा वित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।

पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३१ मा पुनः ब्रेक लागेको थियो । ५ दशमलव ०२ प्रतिशतले बजार घटेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

ब्रेक लाग्दासम्म नेप्से परिसूचक ७२ दशमलव ०३ अंकले घटेर १३६३ दशमलव ६६ अंकमा झरेको छ । कारोबार रकम अर्ब नपुग्दै रोकिएको छ ।

यस अवधिसम्म भएका ८ हजार १ कारोबारबाट २३ लाख ११ हजार ५९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९१ करोड ८० लाख ९७ हजार १ सय ४६ रुपैयाँमा रोकिएको छ ।

कोरोना भाइरसको त्रासका कारण लगानीकर्ता अत्तालिएका छन्। लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरी क्यासमै रकम राख्न खोजेका कारण सेयर बजार ओरालो लागेको हो ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

ब्रेक लागेको अवस्थामा पहिलो घण्टा २० मिनेट, दोस्रो घण्टा ४० मिनेट र त्यसपछि ब्रेक लागे दिनभरकै कारोबार स्थगन हुन्छ ।

संसारभरका सेयर बजारलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि पछ्याएको छ । कोरोना भाइरसका कारण अर्थब्यवस्थामा संकुचन आउन थालेपछि संसार भरका सेयर बजारमा पहिरो गइरहेको छ ।

जीवन बीमा सूचक ७६२ अंक र निर्जीबन बीमा सूचक ३६२ अंकले झरेको छ। वाणिज्य बैंक सूचक ८३ अंकले ओर्लिएको छ भने होटल १२० अंकले ओरालो लागेको छ। लघुवित्त १०३ अंक तल आएको छ ।

प्रतिक्रिया दिनुहोस