सांसद पोखरेलको बजेटले बाटो बन्यो

सोमबार, २६ फागुन २०७६, १५ : ०५
सांसद पोखरेलको बजेटले बाटो बन्यो

चितवन । भरतपुर–७ कृष्णपुरस्थित सनराईज टोल विकास संस्था अन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र बजेटबाट प्राप्त रकमले सो मार्गको करिब १३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपियाँ बिनियोजन गर्नुभएको थियो ।

भरतपुर महानगरले सो बाटोको लागि पन्ध्र लाख रुपियाँको लागत ईष्टिमेट तयार पारेर कार्यादेश दिएपनि बाँकी रकम जनसहभागिताबाट पूरा गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो । सो मार्गमा उच्चस्तरको ‘इण्टरलक मोज्याक’ बिछ्याईएको छ ।

आज सोमबार उपभोक्ता समितिद्वारा आयोजित खर्च सार्वजनिकिकरण कार्यक्रममा नवनिर्मित सगरमाथा मार्गको सांसद कृष्णभक्त पोखरेलले निरिक्षण गर्नुभएको थियो । कार्यक्रममा सांसद पोखरेलले उपभोक्ता समिति, स्थानीय तह र निर्माण कम्पनीबीच तालमेल नहुँदा कतिपय परियोजनाहरु समयमै सम्पन्न नहुने, भएपनि गुणस्तरको नहुने गरेको अनुभव प्रस्तुत गर्दै सनराइज टोलका उपभोक्ताले सबैलाई तालमेल गराएर नमुनायोग्य बाटो बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा बिनियोजित परियोजनामध्ये यो बाटो निर्माण गर्न यहाँका उपभोक्ताहरुले समयमै सम्झौता गरी जिल्लामा नै पहिलोपटक काम सम्पन्न गरेको पनि सांसद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, चित्रवन साकोसका अध्यक्ष सन्तबहादुर गुरुङ, सनराइज टोल विकास संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सल्लाहकार भिमसेन देवकोटा, कृष्णबहादुर रानाभाट, नेकपा चितवनका कार्यालय सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’, लगायतले भौतिक निर्माणसँगै महानगरका टोलले अब स्वास्थ्य र सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो ।  

उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेत्रजंग जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस