सहदेवलाई आफ्नै ज्वाइँ सन्तोषले गोली हानेको खुलासा

शनिबार, २४ फागुन २०७६, १४ : ३१
सहदेवलाई आफ्नै ज्वाइँ सन्तोषले गोली हानेको खुलासा

बर्दिवास । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ बस्ने ६२ वर्षीय सहदेव प्रसाद यादवलाई गोली हान्ने उनको आफ्नै कान्छो ज्वाइँ सन्तोष यादव रहेको खुल्न आएको छ ।

गत आइतबार रातको २ बजे शौच गर्न घरबाट बाहिर निस्केका सहदेवमाथि गोली प्रहार भएको थियो । महोत्तरीको औरही नगरपालिका–१ घर सन्तोषले ससुरालाई गोली हानेको स्वीकारेका छन् ।

जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचाररत सहदेवले सञ्चारकर्मीसँग भने, ‘मध्यरातमा पिसाब फेर्न उठेको थिएँ । श्रीमती पनि म सँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई घरकोे भित्तामा लुकेको देखेँ । त्यसमध्ये एकजना मेरै ज्वाइँ थिए । हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली हानियो एउटा गोली छेउबाट गयो । अर्को मेरो कोखमा लाग्यो म ढलेँ ।’

सन्तोषले जाँडरक्सी सेवन गरी पटक–पटक ऋण माग्ने गरेको र नदिँदा छोरी ९श्रीमती०लाई कुटपिट र यातना दिएका कारण ज्वाँइसँग सम्बन्ध बिग्रिएको घाइते यादवको भनाइ छ । 

हाल गोली प्रहार गर्ने ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ । ससुरा र ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  

सहदेवलाई पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त भएपछि बिहीबारदेखि उनलाई नर्मल वार्डमा राखेर उपचार गरिएको छ । यादव अवकाश प्राप्त शिक्षक हुन् ।