शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल

पत्रपत्रिकाबाट

शनिबार, २४ फागुन २०७६, ०७ : ३४
शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल

फाईल फोटो

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ । भारत, पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया, चीनलगायतका देश नेपालभन्दा पछि छन् भने छिमेकी देश चीन दसौँ स्थानमा छ । शान्ति स्थापक फौजमा गएका नेपाली महिला सैनिकहरू विश्वका धेरै महिला सैनिकहरूमध्ये पाँचौँ स्थानमा छन् । 

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघको आह्वानमा विश्‍व शान्ति स्थापना कार्यका लागि फौज पठाउने विश्‍वका एक सय २२  देशमध्ये यो वर्षबाट नेपाल चौथो स्थानमा उक्लिन सफल भएको छ । नेपालले भारतलाई उछिनेर चौथो स्थानमा पुगेको हो । हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरू गरी जम्मा पाँच हजार ६ सय ५८ जना सुरक्षाकर्मी कार्यरत छन् । यीमध्ये नेपाली सेनाका पाँच हजार ९६ शान्ति सैनिक छन् भने नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पाँच सय ६२ जना फौज तैनाथ छन् । 

शान्ति स्थापक मिसनमा नेपालभन्दा बढी इथियोपियाबाट ६ हजार ६ सय ३९ जना, बंगलादेशबाट ६ हजार चार सय १३ जना, रुवान्डाबाट ६ हजार दुई सय ९२ जना कार्यरत छन् । पाँचौँ स्थानमा भारतका पाँच हजार चार सय चारजना सैनिक कार्यरत छन् । भारतपछि पाकिस्तानका चार हजार तीन सय ११, इजिप्टका तीन हजार एक सय १३, घानाका दुई हजार सात सय ७४, इन्डोनेसियाका दुई हजार सात सय पाँच, चीनका दुई हजार पाँच सय ४४, तान्जानियाका दुई हजार तीन सय पाँच, सेनेगलका दुई हजार दुई सय ४९ जना कार्यरत छन् ।  

नेपालबाट ६ जना फोर्स कमान्डर
नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको ६१ वर्षमा नेपालले युएन मिसनको नेतृत्वमा कम अवसर पाएको छ । हालसम्म पाँचजना उच्च सैन्य अधिकारीले मात्रै मिसन प्रमुख (फोर्स कमान्डर) हुने अवसर पाएका छन् । छैटौँ फोर्स कमान्डरका रूपमा सेनाका उपरथी ईश्वर हमाल सिरियाको गोलानहाइट्सस्थित मिसनको नेतृत्व गर्न जाने तयारीमा छन् ।

फोर्स कमान्डर नियुक्त भएका नेपाली सैन्य अधिकारीमध्ये हमाल नेपाली सेनाका छैटौँ हुन् । हमालभन्दा अघि फोर्स कमान्डर हुनेमा पूर्वरथी कृष्णनारायणसिंह थापा (जेरुसेलम मिसन), भिक्ट्रीशमशेर जबरा (साइप्रस मिसन), बालानन्द शर्मा (गोलानहाइट्स), पवनजंग थापा (सुडान) तथा प्रधानसेनापति पूर्णचन्द्र थापा (गोलानहाइट्स) छन् ।

प्रतिक्रिया दिनुहोस