तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक सङ्घ

रासस

शुक्रबार, २३ फागुन २०७६, १६ : ४१
तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक सङ्घ

काठमाडौँ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो । 

सङ्घले आज पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ । सम्मेलनमा सङ्घका अध्यक्ष जि नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौँ, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनाँै ।” 

नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् । सङ्घका महासचिव विप्लव अधिकारीले नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा वर्तमान परिस्थितिले सबैमा सचेतना बढोस् भन्नुभयो । 

उहाँले हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलार्इृ आग्रह गर्नुपर्ने अवस्था नरहेको जनाउँदै निजी औषधि उद्योगसँग सरकारले सहकार्य गरेमात्र पुग्ने बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक सङ्घसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरु नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पु¥याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पार्नुभयो । नेपाल हाल करिब ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ भने बाँकी औषधि विभिन्न मुलुकबाट आयात हुने गरेको छ । गत वर्ष मुलुकमा स्वदेशी र विदेशी गरी करिब रु ७० अर्ब मूल्य बराबरको औषधि खपत भएको सङ्घले जनाएको छ ।