विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०७६, १४ : १२
विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी

काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । पूर्वउपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजाय माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।

पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ । अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ । अदुअआले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस