विदेशी नागरिकलाई पनि अब सर्वोच्च पदक !

सफल खबर संवाददाता

विहीबार, २२ फागुन २०७६, ०९ : २७
विदेशी नागरिकलाई पनि अब सर्वोच्च पदक !

काठमाडौं । कुनै पनि देशका सरकारले दिने पदक त्यो ब्यक्तिले गरेको योगदानलाई कदर गरेर दिइने गरिन्छ । तर नेपालमा भने आफ्ना नातेदार र पार्टी निकटकालाई हेरेर पदक दिन थालिएको भन्दै पदक दिने बेला चौतर्फी आलोचना हुने गरेको छ । 

यस्तो आलोचनाबाट जोगिने र आफु र आफ्ना नातेदारलाई मानपदवी सिफारिस गर्न नपाउने ब्यवस्था सहितको कानुन अहिले सरकारले निर्माण गर्दैछ । त्यसका लागि नेपाल कानुन आयोगले विभूषण सम्बन्धि नयाँ विधायकको मस्यौदा सरोकारवालाहरुसंगको छलफलका लागि बुधबार सार्वजनिक गरेको छ ।

विधायकको मस्यौदा तयारी गर्दैगर्दा कानुन आयोगले विदेशी नागरिकलाई पनि पदक दिने गरी नयाँ कानुन ल्याउने गरी मस्यौदा तयार पारेको छ । विधेयक तर्जुमापछि आयोगले विभागीय मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । विधायक मस्यौदामा विदेशी नागरिकका लागि सगरमाथा सम्मान पदक दिने गरी सर्वाेच्च पदक दिने तयारी गरेको छ ।

यो पदक पाउने विदेशीले नेपालमा निःशुल्क प्रवेशाज्ञा पाउने छन् । यस्ता पदक बाहक नेपाल भ्रमणमा रहेमा सात दिनसम्मको सबै खर्च नेपाल सरकारले बेहोर्ने प्रस्ताव पनि विधेयकमा छ । पदक बाहकले मञ्जुरी दिएमा सम्मानार्थ नागरिकता पनि प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

सिफारिस भएका व्यक्तिको हकमा विभूषण समितिले छानबिन गर्न सक्नेछ । केन्द्रीय स्तरमा गृहमन्त्रीको अध्यक्षतामा समिति रहने प्रस्ताव मस्यौदामा गरिएको छ । सो समितिले विभूषण प्रदान गर्ने व्यक्तिको नाम सुझावसहित मन्त्रिपरिषदमा पेस गर्ने छ । त्यसरी सिफारिस गर्दा विभूषणको नाम, श्रेणी छुट्ट्याएर पठाउनुपर्ने छ । 

व्यक्तिको योगदान, पेसा, पद तथा सामाजिक हैसियत समेत हेरेर सम्मान तथा विभूषण प्रदान गर्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विभूषण पाउने व्यक्तिको नाम, योगदान र विभूषणको विवरण पनि खुलाई सार्वजनिक गर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्तावित छ ।

तोकिएको अवधिभित्र विभूषण लिनुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ । सामान्यतया एक वर्षभित्र विभूषण नबुझेमा कारण देखाई निवेदन परेमा समय थप हुन सक्ने छ । तर थपिएको समयमा पनि नबुझेमा विभूषण स्वतः सरकारमा फिर्ता हुनेछ । तर कति अवधि थप हुन सक्ने भन्ने स्पष्ट व्यवस्था प्रस्तावित विधेयकमा छैन् ।
 

प्रतिक्रिया दिनुहोस