प्रतिनिधि सभाद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, १४ : ३५
प्रतिनिधि सभाद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

फाईल फोटो

काठमाडौँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधि सभाको बुधबारको बैठकले स्वास्थ्य लाभको कामना प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाले मिर्गौला प्रत्यारोपण सफलताको कामना गर्नुका साथै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।

प्रस्तावमा भनिएको, ‘यो बैठक सम्माननीय प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण कार्य सफलताका साथ सम्पन्न होस्, भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।’

ओलीको बुधबार बिहानादेखि अपरेशन भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेटमा अप्रेशन थिएटरमा छिराइएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए ।

मंगलबार बेलुकादेखि नै प्रत्यारोपणका लागि लागि आवश्यक औषधि दिन सुरु गरिएको थियो । ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी छिन् । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा ।