बालविवाहले लिइरहेछ ज्यान

आइतबार, १८ फागुन २०७६, ०७ : ५८
बालविवाहले लिइरहेछ ज्यान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ की १७ वर्षीया युवतीको गत साउनमा विष सेवन गरी मृत्यु भयो। जनजाति ती युवतीले दलित युवकसँग बिहे गरेकी थिइन्। परिवारले अन्तरजातीय बिहे स्विकारेन। दाम्पत्य जीवन एक वर्ष नटिक्दै उनले आत्महत्या गरिन्।

डुडुवा गाउँपालिका–५ की १८ वर्षीया युवतीले गत भदौमा आत्महत्या गरिन्। उनको प्रेमविवाह मुस्किलले सात महिना टिक्यो। तनाव सहन नसकेपछि उनले झुन्डिएर आत्महत्या गरिन्।

खजुरा गाउँपालिका–५ का १९ वर्षका युवकले अन्तरजातीय र अन्तरधार्मिक बालविवाह गरे। हिन्दु धर्म मान्ने ती युवकले मुस्लिम युवतीसँग प्रेमविवाह गरेका थिए। सुरुमा परिवारले स्विकारेन। नवदम्पती ६ महिना भारतमा बसे। जेनतेन परिवारले स्विकार्‍यो। त्यसपछि तगारो बन्यो, दाइजो। बिहेको एक वर्षभित्रै गत असारमा उनले आत्महत्या गरे।

बाँकेमा चालु आर्थिक वर्षको साढे ७ महिनामा अकालमै ज्यान गुमाउने बालबालिकाको संख्या सात पुगेको छ। आत्महत्या गर्नेको संख्या भने १० रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीको चार वर्षको तथ्यांकअनुसार आत्महत्या गर्नेमध्ये ६३.१३ प्रतिशत २० वर्षमुनिका छन्। यस अवधिमा दुई सय ६ आत्महत्या भएकोमा एक सय २८ जनाको उमेर २० वर्षमुनिको थियो। २० वर्षमुनिका आत्महत्यामध्ये ५० प्रतिशत त बालविवाहपछि आत्महत्या गर्नेहरू रहेको जिप्रका बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंह बताउँछन्।

‘बालविवाहपछि आत्महत्या गर्ने युवतीको संख्या अझ डरलाग्दो छ। आत्महत्या छोरीको संख्या ९५ प्रतिशत छ’, डीएसपी सिंहले भने, ‘उमेर नपुग्दै बिहे गर्छन्। पारिवारिक थिचोमिचो सहन नसकेर आत्महत्याजस्तो गलत बाटो रोज्न पुग्छन्।’

चार वर्षमा २० वर्षमुनिका ९४ जना बालिकाले आत्महत्या गरेका छन्। यीमध्ये बालविवाहपछि आत्महत्या गर्नेको संख्या ६९ छ। यसमा २० वर्षमुनिका ७३.४३ प्रतिशत छन्।

सबैभन्दा बढी २० वर्षमुनिको आत्महत्या ०७५-७६ मा ६७.३४ प्रतिशत भएको थियो। गत वर्ष भएका ४९ आत्महत्यामध्ये ३३ वटा २० वर्षमुनिकै थिए। अघिल्लो वर्ष ०७४-७५ मा ६६.६६ प्रतिशत २० मुनिकाले आत्महत्या गरेका थिए। ६३ आत्महत्यामध्ये ४२ जना २० वर्षमुनिका थिए। ०७३-७४ मा पनि ६१.३३ प्रतिशत २० वर्षमुनिका थिए। यस अवधिमा ७५ आत्महत्यामध्ये ४६ जना २० वर्षमुनिका थिए।

४३ बालविवाह रोकिएन

किशोरी क्लब र बाल क्लबको सहयोगमा बाँकेमा यस वर्ष प्रहरीले ४३ वटा बालविवाह रोकेको छ। प्रहरीले रोकेको बताए पनि अभिभावकले प्रहरीको आँखा छलेर पुनः बिहे गरेका खबर सार्वजनिक भइरहेका छन्। बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले प्रहरीले रोकेपछि पुनः बिहे गरेको पाइएमा अभिभावक, बिहे गराउने पण्डित, जन्ती सबैउपर मुद्दा चलाउने बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार नेपालगन्जमा हिन्दु धर्मका पुजारी, इस्लाम धर्मका मौलानालगायतका धर्मगुरु, क्रिस्चियन धर्मका पास्टर र जनप्रतिनिधिलाई डाकेर आयोजना गरेको अन्तरक्रियामा एसपी ओलीले भने, ‘अहिलेसम्म प्रहरीले बालविवाह रोक्ने काममात्र गरेको हो। प्रहरीले विवेकले काम गरेको थियो। अब विधिले काम हुन्छ।

बालविवाह गर्ने–गराउने सबैलाई कारबाहीको दायरामा ल्याउने अभियान सञ्चालन गर्नेछौं।’ कम उमेरमा बिहे गरेन भने साइत छैन, बिहे नै हुँदैन, शुभ हुँदैन जस्ता भ्रम सिर्जना गरी बालविवाह गर्न बाध्य नपार्न पण्डित, मौलाना र पास्टर सहमत भएका छन्। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस