भ्रूण हत्या आरोपपछि गाउँपालिका अध्यक्ष फरार

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०७ : १३
भ्रूण हत्या आरोपपछि  गाउँपालिका अध्यक्ष फरार

ताप्लेजुङ । एक दलित युवतीको जबर्जस्ती गर्भपतन (भ्रूण हत्या) गराएको घटनाका आरोपीमध्येका पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ माघ तेस्रो सातादेखि अझै घर फर्केका छैनन् । सोमबार उनले संवाददातासँग फोनमा कुरा गर्दै आफू फरार नरहेको दाबी गरे । प्रहरीले भने उनको नाम फरारको सूचीमा राखेको छ ।चेम्जोङले काम विशेषले तराईमा रहेको बताए पनि कुन ठाउँ भन्ने खुलाएनन्।

‘मैले मेराविरुद्ध उजुरी परेको भन्ने सुनेको छु, कानुनभन्दा माथि कोही छैन,’ उनले भने, ‘अदालतमा हाजिर भएर कानुनी प्रक्रियामा सहयोग गर्छु।’ दोषी ठहरिए सजाय भोग्‍न तयार रहेको उनले बताए। माघ २३ मा उपाध्यक्ष सीता आचार्यलाई जिम्मेवारी दिएर काम विशेषले बाहिर रहेको उनले बताए।  भ्रूण हत्या गराउन दबाब दिएको भन्‍ने किटानी जाहेरी दिएकी युवतीसँग आफ्‍नो टेलिफोन सम्पर्क र भेट पनि नभएको चेम्जोङको दाबी छ।

‘कसैले उक्साएर, प्रलोभन देखाएर मविरुद्ध प्रयोग गरेको हुन सक्छ,’ उनले भने, ‘मलाई फसाउन खोज्ने लान्छना लगाउने कार्य पहिल्यैदेखि भएको छ।’ गाउँपालिकाको न्यायिक समितिले गरेको निर्णयमा पनि अध्यक्षले घर निकाला गर्‍यो भनेर आफूविरुद्ध प्रचार गरिएको गुनासो उनको छ। १९ वर्षीया युवतीले २१ साताको गर्भपतन गराउन दबाब दिएको भन्दै अध्यक्ष चेम्जोङसहित कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्कासहित सात जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। खड्कासँग आफूले विवाह गरेको ती युवतीको दाबी छ।

चेम्जोङसँगै खड्काको नाम पनि फरार रहेकाको सूचीमा छ। युवतीको जाहेरीका आधारमा भ्रूण हत्यामा संलग्नताको आरोप लागेका सदरमुकाम फिदिमको समर्पित अस्पतालका डाक्टरसहितका तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूको अनुसन्धान भइरहेको छ।

प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले हिरासतमा रहेकाहरूको अनुसन्धानको काम सकिएको र म्यादभित्रै सरकारी वकिलको कार्यालयमा बुझाउने बताए। ‘फरार रहेकाहरू भेटिएका छैनन,’ न्यौपानेले भने, ‘हिरासतमा रहेकाको अनुसन्धान सकिएको छ, २५ दिनभित्रैमा सरकारी वकिलको कार्यालयमा बुझाउँछौं।’ प्रहरीले युवतीका घरपरिवारसमेतलाई सोधपुछ गरेको थियो।

युवतीले माघ २२ मा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीका अनुसार उनको भ्रूण हत्या पुस २४ मा भएको हो। युवतीले दिएको जाहेरीअनुसार समर्पित हस्पिटलमा गराइएको हो। आलु बारीमा पुरेको अवस्थाको भ्रूण प्रहरीले उत्खनन गरे पनि पीडित युवतीको हो वा अन्य पुष्टि भइसकेको छैन।

परीक्षणका लागि पठाइएको न्यौपानेले बताए। मेघा बैंकको याशोक शाखामा कार्यरत खड्का र युवतीबीच गत साउन २८ मा स्थानीय शिवालय मन्दिरमा विवाह गरेको युवतीको दाबी छ। त्यसपछि बसेको गर्भ पतनका लागि रमेश, उनका दाजु, दिदी, पालिका अध्यक्षसमेतले दबाब दिएको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस