अश्लिल र छाडा पुस्तक नबेचौँ : बस्याल

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, १७ : ०१
अश्लिल र छाडा पुस्तक नबेचौँ : बस्याल

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष मनहरि बस्यालले बढी कमिसन पाउने लोभमा पुस्तक पसलेहरुले अश्लिल र छाडा पुस्तक बेच्न छाड्नु पर्ने बताएका छन् । नेपाल पुस्तक तथा व्यवसायी संघ चितवनको शनिबार नारायणगढमा सम्पन्न जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुस्तक तथा स्टेशनरी व्यवसाय शिक्षासँग प्रत्यक्ष जोडिएको व्यवसाय भएकोले समाजमा नकारात्मक असर पार्ने खालका पुस्तकको बिक्री गर्न नहुने उनको धारणा छ । पुस्तक व्यवसायीले झिनो कमिसन र ठूलो झन्झट बेहोरेर पनि सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएको उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्रबाट प्राप्त हुने सरकारी पाठ्यपुस्तक नौ प्रतिशत कमिसन लिएर बिक्री गर्दै आएका छौँ उनले भने, जनक शिक्षाले पुस्तक बाँध्ने डोरीसमेत दिँदैन । पुस्तकको तौल बढी हुने भएकोले ढुवानीमा पनि सास्ती खेप्नु पर्छ । ढुवानी खर्च कटाउँदा सरकारी पाठ्यपुस्तक बिक्रीबाट खासै नाफा हुँदैन । समाजसेवा सम्झेर त्यस्ता पुस्तक बिक्री गर्दै आएका छौँ ।

उनले महासंघको पहलमा केही वर्षयता मूल्य सच्याइएका र मूल्य अंकित भएको ठाउँमा स्टीकर टाँसेर नयाँ मूल्य लेखिएका बोर्डिङका पाठ्यपुस्तकको बिक्री रोकिएको जानकारी दिए । पाठ्यपुस्तकको मूल्य सरकारले नियन्त्रण गर्नु पर्ने उनको भनाइ छ । लेखकले पाउने रोयल्टी र प्रकाशित पुस्तकको संख्याको कारण साहित्यिक र अन्य केही पुस्तकको मूल्यमा एकरुपता आउन नसक्ने उनले स्पष्ट पारे ।

संघका जिल्ला अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न जिल्ला भेलाको उद्घाटन समारोहमा संघका बागमती प्रदेश अध्यक्ष किरणकुमार खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । महासंघमा आवद्ध ७७ जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीको संख्या १५ हजार छ । यसमध्ये दस हजार व्यवसायीले पुस्तकमात्रै बिक्री गर्छन् ।

प्रतिक्रिया दिनुहोस