साठी वर्ष पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

सूर्यप्रकाश कँडेल

सोमबार, ०५ फागुन २०७६, १७ : १८
साठी वर्ष पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी

तस्विर : सूर्यप्रकाश कँडेल

चितवन । छ वर्षभन्दा लामो समयदेखि बन्द रहेको छ दशक पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । चितवनको पश्चिमी भेगमा अवस्थित मेघौली पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।

नेपालकै पुरानो यो विमानस्थल बन्द हुँदा पर्यटकीय गतिविधिमा असर परेको भन्दै नेपाल भ्रमण वर्षको अवसर पारेर पुनः सञ्चालनका लागि पहल भइरहेको बागमती प्रदेशका सांसद कृष्ण भूर्तेल बताउँछन् । पर्यटकीय विकासको लागि यातायात, सडक र विमानस्थल महत्वपूर्ण हुने भएकाले भएका संरचनालाई सञ्चालन गर्न पहल सुरु गरिएको उनले जानकारी दिए ।

चितवनका पर्यटन व्यवसायी तथा सरोकारवालाबीच भएको विभिन्न चरणको बैठकले चार वर्षअघि मेघौली विमानस्थलमा हवाइ जहाज अवतरण गराउनको लागि पहल गरेका थिए । त्यतिबेला केही समय मेघौली विमानस्थलमा चार्टर गरिएका विमानको उडान र अवतरण भएपनि टिक्न सकेन ।

‘मेघौली एयरपोर्टको स्तरोन्नतिको विषयमा पर्यटनमन्त्री योगेश भट्टराईसँग कुरा गर्दैछु’ सांसद भूर्तेलले भने, ‘पछिल्ला केही वर्षयता मेघौलीमा ठूला होटल निर्माण भई सञ्चालनमा आएर पर्यटकीय दृष्टिले मेघौली आकर्षणको केन्द्र बन्दै जाँदा विमानस्थलको आवश्यकता अझ बढेको छ ।’ 

२०१६ सालमा निर्माण भई केही वर्षपछि प्रयोगमा आएको मेघौली विमानस्थल तत्कालीन राजपरिवार सदस्यले चितवन राष्ट्रिय निकुञ्जमा शिकार खेल्न आउँदा प्रयोग गर्थे । २०१६ सालमा बेलायतकी महारानी एलियाजावेथ प्रथम चितवन आउँदा मेघौली विमानस्थल निर्माण भएको थियो ।

भरतपुर विमानस्थलभन्दा जेठो मेघौली विमानस्थलमा दैनिक १० वटासम्म उडान र अवतरण भएको तथ्यांक छ । निकुञ्जभित्र रहेको टाइगर टप्स होटलमा आउने पर्यटक चार्टर गरेर विमानमा आउने भएकाले २०३० सालदेखि मेघौली विमानस्थल नियमित सञ्चालनमा आएको थियो । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि मेघौली विमानस्थल पनि बन्द भयो । 

मेघौली क्षेत्रमा करोडौँको लागनीमा अहिले चौधरी ग्रुपको मेघौली सेराई होटल र पोखराको होटल बाराही ग्रुपको बाराही जंगल रिसोर्ट सञ्चालनमा आइसकेको छ । मेघौली आउने विदेशी पर्यटकहरु धेरै खर्च गर्न सक्ने हैसियतका हुने भएकाले यहाँको विकासका लागि विमानस्थल सञ्चालन जरुरी भएको भूर्तेल बताउँछन् । 

एक महानगर, दुई विमानस्थल

एक हजार दुई सय मिटर धावनमार्ग (रन वे) भएको मेघौली विमानस्थलमा २५ सिट क्षमताका ट्वीनअटर (साना जहाज) अवतरण गर्न सक्छन् । कच्ची रनवे भएकाले मेघौलीमा ठूला जहाज भने अवतरण गर्न सक्दैनन् । धावनमार्ग पिच गरेर केही बिस्तार गर्ने हो भने मेघौली विमानस्थल भरतपुर विमानस्थलको विकल्प बन्न सक्छ । भरतपुरको चौबीसकोठीबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थलको धावनमार्ग बिस्तारका लागि सहजै जग्गा प्राप्त हुने सांसद भूर्तेल बताउँछन् ।

मेघौली क्षेत्रमा रहेका १० होटलमा ३ सय ५५ जना र १० वटा होमस्टेमा ८० जनाको क्षमता रहेको छ । प्रदेश सांसद कृष्ण भुर्तेल दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा रहेको भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई आन्तरिक र मेघौलीविमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नु पर्ने बताउँछन् । मेघौली विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारमार्फत आवश्यक पहल गरिने उनी बताउँछन् । 

संघारमा पर्यटन महोत्सव

मेघौली विमानस्थलसँगै जोडिएको हात्तीपोलो खेल मैदानमा फागुन १८ देखि २४ गतेसम्म पाँचौं मेघौली पर्यटन महोत्सवको आयोजना हुँदैछ । नेपाल भ्रमण वर्षको अवसर पारेर मेघौली पर्यटन विकास समिति (भरतपुर २७ र २८) एवं मेघौली मध्यवर्ती उपभोक्ता समितिले पर्यटन महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव आयोजक मूल समारोह समिति संयोजक हरिचन्द्र महतोले पर्यटनको प्रवद्र्धन, विकास र पर्यटनबाटै मेघौलीको समृद्धिका लागि महोत्सव आयोजना गरिएको बताए ।

'बागमती प्रदेशका उत्कृष्ट दस गन्तव्यभित्र मेघौली परेको छ' उनले भने, 'मेघौली आउने पर्यटकलाई सामुदायिक वनमा जीप तथा हात्ती सफारीबाट वन्यजन्तु अवलोकन एवं गाउँमा थारु, कुमाल लगायतका आदिवासी जनजातिको सँस्कृति देखाउने व्यवस्था मिलाएका छौँ । हाम्रो समृद्धिको विकल्प भनेको पर्यटन नै हो ।'

मेघौली विमानस्थल नजिकको चौरमा २०५७ सालमा पहिलोपटक मेघौली महोत्सवको आयोजना भएको थियो । २०६० सालमा दोस्रो, २०६२ सालमा तेस्रो र २०६६ सालमा चौथो पटक मेघौली महोत्सव सम्पन्न भइसकेका छन् । विगतमा आयोजना भएका मेघौली महोत्सवको प्रभावले आदिवासी, जनजाति र अन्य समुदायको सँस्कृति जोगाउने काम भएको महोत्सव संयोजक महतो बताउँछन् । सय वटा स्टल रहने मेघौली महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको उनले जानकारी दिए । महोत्सव अवलोकनका लागि ३४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस