थुनामा रहँदा सबैले राम्रो व्यवहार गरे : महरा

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, १७ : ००
थुनामा रहँदा सबैले राम्रो व्यवहार गरे : महरा

काठमाडौं । अदालतबाट रिहा भएका पूर्व सभामुख कृष्णबहादुर महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको बताएका छन् ।

रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै महराले कारागारमा भएको राम्रो व्यवहारप्रति आभार व्यक्त गरे । साथै उनले आफू निर्दोष भएको बताए । अरु विषयमा पछि बोल्ने महराले बताए ।

डिल्लीबजार कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न दुई बुहारी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए । 

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पूर्वसभामुख महरा पुर्पक्षका लागि जेलमा रहेका थिए । महरामाथि १२ असोजको साँझ ती महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । जबरजस्ती करणी प्रकरणमा मुछिएपछि महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।