फ्रान्समा कोरोना भाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु

एजेन्सी

आइतबार, ०४ फागुन २०७६, १२ : २३
फ्रान्समा कोरोना भाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु

एजेन्सी । फ्रान्समा कोरोना भाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । एसियाबाहिर यस रोगको संक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो । ज्यान गुमाउनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय व्यक्ति रहेको फ्रान्सको स्वास्थ्यमन्त्री एग्नेस बुज्यीनले जानकारी दिए ।

उनी गत १६ जनवरीमा फ्रान्स आइपुगेका थिए । उनलाई जनवरी २५ देखि पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो । यसअघि, चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाले ज्यान गुमाएका थिए ।

यसैबीच, चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ सय ६५ पुगेको छ । यस रोगबाट ६८ हजारभन्दा बढी संक्रमित रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगले आइतबार दिएको जानकारी अनुसार यस रोगबाट थप १ सय ४२ जनाले ज्यान गुमाए भने २ हजार ९ वटा संक्रमित थपिएका छन् । चीनबाहिर ३० देशमा ५०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

अन्य अपडेट

– कोरोनाभाइरसलाई फर्कन नदिन चीनको केन्द्रीय बैङ्कले प्रयोगमा रहेको नोटलाई डिस्इन्फेक्ट गरेर पुनः बजारमा पठाउने भएको छ ।

– कोरोनाभाइरसको संक्रमणपछि जापानको तटबन्दमा डाइमन्ड प्रिन्स क्रुज जहाजमा फँसेका ४ सय अमेरिकी नागरिकलाई फिर्ता ल्याउन अमेरिकाले जहाज पठाउने भएको छ ।

– सिङ्गापुरमा थप ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ ७२ जनामा कोरोनाभाइरस देखिएको छ । १८ जना भने पूर्णरुपमा स्वस्थ्य बनेर घर फर्किसकेका छन् ।