चीनबाट ल्याइएका विद्यार्थीहरुलाई खरिपाटीमा राखिने, सबै तयारी पूरा

मंगलबार, २८ माघ २०७६, १६ : २०
चीनबाट ल्याइएका विद्यार्थीहरुलाई खरिपाटीमा राखिने, सबै तयारी पूरा

काठमाडौँ । चीनबाट ल्याइएको विद्यार्थीहरुलाई भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ । अहिले सो क्षेत्रमा भौतिक, प्राविधिक र चिकित्सकीय तयारी भइरहेको छ ।

आवश्यक तयारी पूरा भएपछि चीनमा रहेका नेपालीलाई उद्धार गरी खरिपाटीमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सरकारले खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेको होस्टलमा नेपालीलाई राख्ने तयारी भइरहेको छ । 

तालिम केन्द्र बस्तीको बीचमा भएकाले कोरोना संक्रमण फैलिने खतरा हुनसक्ने भन्दै स्थानीयले सुरक्षित ठाउँमा राख्नुपर्ने माग गरेका छन् ।

चीनमा कोरोना भाइरसको त्रास बढेपछि नेपाली विद्यार्थीको आग्रह अनुसार सरकारले उद्धार गरेर ल्याउने तयारी गरेको छ । चीनमा कोरोना भाइरसबाट हालसम्म १ हजार बढी व्यक्तिको मृत्यु भएको र ४२ हजारभन्दा बढी संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस