मन्त्रिपरिषद्को बैठक आज बस्दै, को बन्लान् प्रहरी आईजीपी ?

नयाँ बन्ने आईजीपीले १४८ दिनमात्रै आईजीपी बन्न पाउने

सफल खबर संवाददाता

सोमबार, २७ माघ २०७६, ०९ : ५९
मन्त्रिपरिषद्को बैठक आज बस्दै, को बन्लान् प्रहरी आईजीपी ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको पदावधि भोलि मंगलबाबाट सकिदैछ । ३० वर्षे सेवा अवधी हदका कारण अनिवार्य अवकासमा जान लागेका खनाल अन्तिमसम्म सेवा अवधीको हदसम्वन्धी निर्णय क्याबिनेटबाट बढाएर प्रहरी महानिरीक्षकमा केही समय अझै टिकिरहन चाहेका थिए ।

तर क्याबिनेटले यो सम्बन्धी कुनै निर्णय नगरी दिँदा र गृहले त्यस्तो प्रस्ताव नै क्याविनेटमा लैजान नचाहेपछि उनी अनिवार्य अवकासमा जान लागेका हुन् ।उनी सँगै पुष्कर कार्कीलगायत पनि अनिवार्य अवकासमा भोलिबाटै जानुपर्ने छ ।  त्यसपछिको प्रहरी महानिरीक्षक आईजीपी को ? अहिले प्रहरी संगठनभित्र चर्चा छ ।

प्रहरी महानिरीक्षक चयनका लागि आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमति बैठक बोलाइएको छ । यही बैठकले नयाँ आईजीपीको निर्णय सरकारले लिदैछ ।

आईजीपीका लागि अहिले तीन जना प्रतिस्पर्धामा छन् । डिआईजीहरु प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय आईजीपी बन्ने दौडमा छन् ।

तर उनीहरुले पनि जम्माजम्मी साढे ५ महिनामात्र प्रहरीको कमाण्ड सम्हाल्न पाउनेछन् । अर्थात् सरकारले आज नियुक्ति गर्ने नयाँ आईजीपीले मात्र १४८ दिन प्रहरी संगठनको कमाण्ड सम्हाल्न पाउनेछन् ।

कारण उनीहरु पनि अहिलेकै आईजीपी खनालकै वैकल्पिक ब्याजी हुन् । ३० वर्षे सेवा अवधीअुनसार उनीहरुले पनि असार २४ मै सेवाबाट अवकास पाउनेछन् । प्रतिस्पर्धामा रहेकामध्ये वरियतामा क्रमशः ज्ञवाली, लम्साल र उपाध्याय छन् ।

यो बीचमा पनि सरकारले सेवा अवधी नबढाए उनीहरुले साढे ५ महिनापछि स्वतः अवकास लिनुपर्ने हुन्छ । छोटो अवधीका लागि महानिरीक्षक बन्ने उनीहरुको दौडपछि आउने वैकल्पिकमा भने डीआईजीहरू शैलेश थापा, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र विश्वराज पोखरेल रहेका छन ।

प्रतिक्रिया दिनुहोस