चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने

बुधबार, ०२ फागुन २०७४, १३ : ५६
चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने

भैरहवा । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ ।

आयोजक संस्था लुम्बिनी पिस म्याराथुन एड्भेन्चर स्पोट्र्स नेपालले लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका रूपमा विकास र प्रवद्र्धन गर्न यो म्याराथुनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

देशमा खेलकुद गतिविधिको विकास र प्रवद्र्धन गर्नसमेत यो म्याराथुनको उद्देश्य रहेको छ । मायादेवीले गौतमबुद्धलाई लुम्बिनीमा जन्म दिएपछि बोकेर आफ्नो दरबार तिलौराकोट फर्केको बाटोलाई माता मायादेवी सुत्केरी बाटोको रुमपा विकास गरी विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्ने योजना रहेकोे लुम्बिनी पिस म्याराथुनका संरक्षक विक्रम पाण्डे रासससंगको कुराकानीमा बताउनुहुन्छ ।

म्याराथुनका रेस डाइरेक्टर ओलम्पिक धाबक बैकुण्ठ मानन्धर लुम्बिनी शान्ति म्याराथनले लुम्बिनी क्षेत्रमा थप पर्यटक ल्याउन सहयोगी हुने दाबी गर्नुहुन्छ ।

नेपाल, भारत, अस्ट्रेलिया, चीनलगायतका देशबाट लगभग २५० धाबकले लुम्बिनी शान्ति म्याराथनमा भाग लिने अपेक्षा गरिएको उहाँ जानाकारी दिनुहुन्छ । बयालिस किलोमिटर लामो फुल म्याराथुन, २१ किलोमिटर लामो हाफ म्याराथन र पाँच किलोमिटर लामो दौड गरी तीन विधामा म्यारथुन गराइने भएको छ ।

फूल म्याराथनमा प्रथम हुनेले रु एक लाखको लुम्बिनी अशोक पुरस्कार, द्वितीय हुनेले रु ७५ हजारको कपिलवस्तु हुएन सान पुरस्कार र तृतीयले रु ५० हजारको मायादेवी गार्डेन उथान्त पुरस्कारका साथै पदक प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै हाफ म्याराथनमा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार प्राप्त गर्ने छन् । (रासस)

प्रतिक्रिया दिनुहोस