कोरोना भाइरसबाट एकैदिन ६५ जनाको मृत्यु, तीन हजार बढी संक्रमित

एजेन्सी

बुधबार, २२ माघ २०७६, १५ : ३०
कोरोना भाइरसबाट एकैदिन ६५ जनाको मृत्यु, तीन हजार बढी संक्रमित

एजेन्सी । चीनमा नोवेल कोरोना भारइसबाट हिजो ६५ जनाको मृत्यु भयो । योसहित चीनमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ।

हिजो मंगलबार चीनमा ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका छन्। नोवेल कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ३ सय २४ पुगेको छ।

मृत्यु हुनेहरू हुवेई प्रान्तका छन्। त्यसमा पनि कोरोनाभाइरस फैलिएको वुहान सहरमा धेरैको ज्यान गएको छ।

पर्यटकीय नगरी र संसारका चर्चित गाडी निर्माता कम्पनीका प्लान्ट भएको वुहानका वासिन्दा अहिले एकातिर घरबाहिर निस्कन पाएका छैनन् भने अर्कातिर आँखैअगाडि आफन्त गुमाइरहेका छन्।

हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले धेरैको ज्यान लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन्। मृत्यु र बिरामीको आँकडा दिन दुई गुणा रात चौगुणा बढिरहेको छ। पछिल्ला १० दिनमा भाइरसले मर्नेको संख्या २१ र संक्रमित हुनेको संख्या ३० गुणा बढेको छ।
चीनमा स्थिति भयावह देखिएको छ, र विस्तारै अन्य देशहरुमा पनि फैलिरहेको छ । 
यो क्रम चीनमा मात्र सीमित छैन। कोरोनाभाइरस अफ्रिकाबाहेक सबै महादेशमा फैलिइसकेको छ। फिलिपिन्समा त एक जनाको मृत्यु नै भएको छ। नेपालमा एक जना संक्रमित भेटिएको छ । 

कोरोनाको कहर कहिले रोकिन्छ कसैले उत्तर दिन सक्दैन। किनकी एकातिर यो रहस्यमयी भाइरस लागे निको पार्ने भ्याक्सिन वा ट्याबलेट बनेको छैन । अर्कातिर यो यति फैलिइसकेको छ सतर्कता नअपनाउने हो भने वुहानजस्तै संसारका कुनै पनि सहरमा महामारी बनिदिन सक्छ।  यसलाई विज्ञहरूले प्यान्डेमिक ‘दुईभन्दा बढी महादेशमा हुने महामारी’ भनेका छन्।

कोरोनाभाइरस पहिला जनावरमा देखिने गरेको थियो। सुक्ष्म रूपमा नियाल्दा यो भाइरस ताज ‘क्राउन’ जस्तै देखिने भएकाले कोरोनाभाइरस भनिएको हो।

अहिले देखिएको भाइरस कोरोना समूहको सातौं हो।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस