रौनियार सांसदबाठ निलम्बनमा परेसंगै विकास बजेट अन्यौलमा

पत्रपत्रिकाबाट

सोमबार, २० माघ २०७६, ०७ : ०६
रौनियार सांसदबाठ निलम्बनमा परेसंगै विकास बजेट अन्यौलमा

पर्सा । संघीय सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि उनको क्षेत्र पर्सा ३ मा पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ खर्च हुन सकेको छैन ।तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्षतर्फ निर्वाचित रौनियार उनको पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि निलम्बनमा परेका थिए ।

रौनियार गत वर्ष संसदीय क्षेत्रको निर्देशक समितिको संयोजक पदको शपथग्रहण गर्ने दिन नै निलम्बित भएका थिए । समितिमा जिल्ला समन्वय अधिकारी र सम्बन्धित क्षेत्रको सांसद रहने प्रावधान छ ।रौनियार निलम्बनमा परेपछि उनकै क्षेत्रकी समानुपातिक सांसद पुष्पा कर्णले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै निर्देशक समितिको प्रमुखको शपथ लिएर योजना छनोट गरेकी थिइन् ।

सम्बन्धित क्षेत्रकै सांसद यस्तो समितिको प्रमुख हुने गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली संशोधन भएपछि यस वर्ष बजेट उपोग हुन नसकेको हो । ‘वैकल्पिक रूपमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसदले समितिको नेतृत्व गर्ने व्यवस्था हटेको छ,’ जिल्ला समन्वय समितिका सूचना अधिकारी देव मण्डलले भने । उनका अनुसार समन्वय समितिको कार्यालयले सम्बन्धित क्षेत्रमा योजना छनोट गर्ने गर्छ र छनोट भएका योजनामा सांसदले रकम विनियोजन गर्छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावलीमा निर्देशक समितिको संयोजक निलम्बनमा रहेको वा अन्य कुनै कारणले संयोजकको पद रिक्त रहेकामा त्यस्तो निलम्बन फुकुवा भएको वा संयोजक हुने सदस्यले शपथग्रहण गरेको मितिले एक महिनाभित्र नियमावलीबमोजिम आयोजना छनोट गर्न सक्ने भनिएको छ ।‘विकास निर्माणका लागि प्राप्त बजेट सदुपयोग हुन नसक्दा दुःख लागेको छ,’ मण्डलले भने, ‘पटक–पटक मन्त्रालयलाई सोधेका छौं, उताबाट जवाफ आएको छैन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस