३० जना चिकित्सकको टीमबाट पाँचौ पटक कलेजो प्रत्यारोपण

पत्रपत्रिकाबाट

शनिबार, ११ माघ २०७६, ०८ : ३४
३० जना चिकित्सकको टीमबाट पाँचौ पटक कलेजो प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले पाँचौँ कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । केन्द्रले गत २८ पुसमा सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोलाई सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो । उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो दान दिएका थिए । सो प्रत्यारोपणमा ३० जना चिकित्सक तथा नर्सहरूको टोलीको संलग्नता रहेको केन्द्रले जनाएको छ ।

भारत नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरको कलेजो विभाग प्रमुख तथा कलेजो प्रत्यारोपण विशेषज्ञ, डा। सुभास गुप्ताले भारतीय टोलीको नेतृत्व गरेका थिए भने नेपाली टोलीको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपणविद् डा। पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा भारतबाट पाँच जना प्राविधिकको टोली संलग्न रहेको थियो भने नेपाली टोलीमा डा। आरती राई, डा। निरज जोशी, डा। सञ्जय यादव, डा। जयन्तकुमार शाह, डा। निभा श्रेष्ठ, डा। अनिषा तिवारी, डा। सपना बर्मा, डा। रोशन घिमिरे, डा। कर्ण राजवंशी, डा। रश्मित श्रेष्ठ, डा। अच्युत खनाल, कोपिला दहाल, बबिता लबजु, अनिता कार्की, विनिता उप्रेतीलगायतको टोली संलग्न थियो । केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठका अनुसार अब उप्रान्त कम्तीमा महिनाको एउटा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस