वाम गठबन्धनबाट काँग्रेस आत्तिनु पर्दैन : ओली

शुक्रबार, ०१ मंसिर २०७४, १७ : ११
वाम गठबन्धनबाट काँग्रेस आत्तिनु पर्दैन  : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले ‘वामपन्थी एकताबाट आत्तिएको’ नेपाली काँग्रेसले कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाउनुभयो । गठबन्धनले निर्वाचन जितेपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले भन्नुभयो, “देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ ।”

काँग्रेसले मुलुकलाई विप्रेषणबाट चलाउन खोजेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले चालीस लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न र राजनीतिक, आर्थिक, सामाजिक स्थायित्व दिन वाम गठबन्धनको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो ।

अर्को प्रसंगमा वाम गठबन्धनले चुनाव जितेपछि देशमा नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “उत्तर दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ।”

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र चीनको तिब्बत जोड्ने कोरला नाका पुग्ने बाटाका लागि रु तीन अर्ब ६० करोड बजेट विनियोजन गरिएको स्मरण गराउँदै वामपन्थी सरकार बनेमा तीन वर्षभित्र उक्त सडक कालोपत्रे गरिसकिने बताउनुभयो । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याइने बताउँदै उहाँल वामपन्थी सरकार आएमा काठमाडौँदेखि पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्‍याइने वचन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस