राष्ट्रियसभा निर्वाचनमा काँग्रेसको ७ सिट गुम्यो

विहीबार, ०९ माघ २०७६, २१ : ३८
राष्ट्रियसभा निर्वाचनमा काँग्रेसको ७ सिट गुम्यो

काठमाडौँ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानमा नेपाली काँग्रेसले ७ सिट गुमाएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको हो ।   

प्राप्त नतिजाअनुसार प्रदेश नम्बर २ मा राजपा र नेकपाका २–२ उम्मेदवार विजयी भए । जहाँ राजपा नेकपाको गठबन्धन थियो । 
प्रदेश नम्बर २ मा राजपा उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह विजयी भए । यस्तै नेकपाबाट तुलसा कुमारी दाहाल र राधेश्याम पासवान विजयी भए । 

अन्य प्रदेशमा सबै नेकपाका उम्मेदवार विजयी भए । जसअनुसार प्रदेश नम्बर १ बाट इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की अछामी र देवेन्द्र दाहाल विजयी भए भने बागमती प्रदेशबाट गंगा कुमारी बेल्बासे र बेदुराम भुसाल विजयी भए । 
यसैगरी गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ विजयी हुँदा प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा विजयी भए । 
यस्तै कर्णालीबाट सुमित्रा बिसी र माया प्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिमबाट शारदा देवी भट्ट र नारामान स्वास विजयी भए । 

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसदको पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान भएको हो । एक जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।