पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

एजेन्सी

विहीबार, ०९ माघ २०७६, ०९ : ०८
पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

एजेन्सी । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा पीएसजीलाई जिताउन कप्तान मार्कुन्योस र नियानजोउ कोवासीले गोल गरे । पीएसजीले अर्को गोल रिम्सबाट उपहार पाएको थियो । नवौं मिनेटमा मार्कुन्योसले नेयमारको पासका गोलगर्दै पीएसजीलाई अग्रता दिलाए ।

३१औं मिनेटमा रिम्सका कोनानको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पीएसजीले अग्रता दोब्बर बनायो । त्यसपछि ७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटिएको थियो ।

मार्काे भेराटीलाई फल हानेपछि रिम्सका मार्सल मुनेटसी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । चार मिनेट लगत्यै पीएसजीले त्यसको फाइदा उठायो । ७७औं मिनेटमा नियानजोउ कोवासीले गोलगर्दै पिएसजीलाई सजिलै जिताए ।

फाइनलमा पीएसजीले लियोनसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार रातिनै भएको खेलमा लियोनले लिलेलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस