शीतल निवासले मर्यादा भुलेपछि के हुँदैछ नेकपामा ?

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १४ : ४२
शीतल निवासले मर्यादा भुलेपछि के हुँदैछ नेकपामा ?

काठमाडौं । उचालेको कुकुरले मृग मार्न सक्दैन । यस्तै भएको छ, सभामुख चयनको प्रक्रिया । राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा र गरिमा मिचेर अघिल्ला राष्ट्रपति डा रामवरण यादवले जस्तै गैरसंवैधानिक क्रियाकलाप अगाडि बढाएपछि उपसभामुख डा शिवमाया तुम्बाहम्फेले पनि सोही गलत कामको अनुसरण गरेकी छिन् ।

सरकारको काम कारवाहीका कारण वाक्क दिक्क भएका जनतालाई सभामुखसमेत चयन गर्न नसक्ने भन्दै जनतामा झन घृणा र आक्रोश पैदा गर्न उद्देश्यका साथ उक्त हर्कत गरिएको जानकारहरुको भनाइ छ । शितल निवासको साथ पाएपछि नेकपा सचिवालयले गरेको निर्णयसमेत नमान्ने, अवज्ञा गर्ने काममा यतिबेला शिवमाया लागेकी छिन् । 

पूर्वसभामुख एवम् सभामुख बन्न सबै प्रकारका हर्कत गरिरहेका सुवास नेम्वाङका नजिकका नातेदार समेत पर्ने शिवमायालाई राष्ट्रपतिले उचालेको स्वयम् उनले नै बताउँदै हिँडेका छन् । नेकपा सचिवालयले तत्काल राजीनामा दिन शिवमायालाई निर्देशन दिएको छ, तर उनी टसको मस भएकी छन् ।

शीतल निवासको साथ पाएकी शिवमायाले सो निर्णय नमान्ने, बरु हिम्मत भए महाअभियोग लगाउन चुनौती दिइन् । त्यसको पछाडि शीतल निवास रहेको आम रुपमा प्रष्ट भएको छ । चोतर्फी दबाब र घेराबन्दीमा परेपछि उनी हल्का गलेकी छिन् र उचालेकोको कुकुरले मृग मार्दैन भन्ने अवस्थामा आइपुगेकी छिन् । 

त्यसो त राष्ट्रपति र प्रधानमन्त्री केपी ओलीसमेत सभामुख पूर्व माओवादीलाई नदिने पक्षमा लागेर शिवमायालाई उचालेको निष्कर्ष निकालिएको छ । पछिल्ला दिनमा पार्टीका नेताहरु एकै ठाँउमा बसेर चिया पिए भने प्रधानमन्त्रीलाई सोध्नुपर्ने जस्तो गरी व्यवहार सार्वजनिक भएको छ । 

आमनागरिक सरकारको काम गर्ने शैलीबाट वाक्क दिक्क भएका छन् । सरकारको विरोध नै गर्न नहुने मानसिकताले प्रधानमन्त्री ओलीमा डेरा जमाएको छ । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग ओलीले दिएको अभिव्यक्ति तथा त्यसको अन्तर्यमा रहेका भावलाई हेर्ने हो भने ओली विरोधको कुनै पनि गुन्जायस नै नहोस् भन्ने चरम नकारात्मक अवस्थामा पुगेका छन् । 

संघीय संसदलाई आफँै बन्धक बनाउने र त्यसको दोष अध्यक्ष प्रचण्डलाई लगाएर आफू पानीमाथिको ओभानो बन्ने दाउमा उनी छन् । सोही अनुसारको व्यवहार र गतिविधिसमेत उनले गरिरहेका छन् । संसदको प्रमुख छान्ने विषयमा उनी छलफल नै नगर्ने अवस्थामा पुगेका छन् । जुन सबैभन्दा बढी खतरनाक र अराजक प्रतित हुँदै गएको छ ।

संसदले सम्पादन गर्नुपर्ने धेरै काम थपिएका छन् । करिब तीन दर्जन हाराहारीमा विधेयक संसद पुगेका छन् । अन्य नियमित कामसमेत बाँकी रहेको छ । 

तर ओली नै आफैँ संसदलाई बन्धक बनाउने र काम नै हुन नदिने अवस्थामा पुगेका हुन् । उनलाई जसरी भएपनि सुवासलाई सभामुख बनाइदिनपर्ने कार्यसूची छ । ‘संसदमा अरु योग्य मान्छे नै नभएको जसरी सुवासलाई नै संसदको साँचो जिम्मा लगाउने पक्षमा नेकपा छैन, हुनु पनि हुँदैन’ एक राजनीतिक विश्लेषकले भने, ‘के संसदको ठेक्का नै सुवास नेम्वाङलाई नै दिनुपर्ने हो र ?’ 

ओलीको सोही व्यवहारबाट आजित भएका प्रचण्डले समेत अन्य नेताहरुसँग नियमित छलफल गरेपछि पछिल्ला दिनमा प्रधानमन्त्रीसँग छलफल गरेका छैनन् । जसका कारण ओलीमा थप चिडचिडाहट बढ्दै गएको छ । 

ओली क्याम्पमा रहेका भनिएका विष्णु पौडेल र सुवास नेम्वाङबाहेक कोही कसैले पनि ओलीले भनेको मान्छेलाई सभामुख बनाउने पक्षमा छैनन् । ती नेताहरु शिवमायालाईसमेत सभामुख बनाउने पक्षमा छैनन् । मान्छे नै नभएको जसरी एउटैलाई सधँै एउटै पद दिनुपर्ने रोगबाट मुक्त हुनुपर्नेमा उनीहरु छन् ।

विशेष गरी माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा जहिल्यै पनि एउटैलाई संसदको मुखिया बनाउने पक्षमा नरहेको बताइन्छ । 

तर, राष्ट्रपतिलाई उचालेर आफ्नो स्वार्थ सिद्ध गराइरहेका प्रधानमन्त्रीले फेरि पनि समस्या समाधानको नाममा राष्ट्रपतिलाई नै उचाल्ने गरेको भन्दै नेकपाभित्र चर्को विरोध सुरु भएको छ । एमसिसीलगायतको विषयमा धेरै जसो नेताको विरोध छ । ओली र उनका विश्वासपात्र रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमात्रै त्यसको पक्षमा रहेका छन् । 
भीम रावलले त सार्वजनिक रुपमा नै फायर खोलेका छन् । उनले त ओली र उनको सचिवालयमा रहेका विष्णु रिमाल, राजन भट्टराईजस्ता हनुमानहरु मात्रै एमसिसीको पक्षमा रहेको र अरु कुनै पनि नेता तथा कार्यकर्ता त्यसको पक्षमा नभएको स्पष्ट पारिसकेका छन् । 

त्यसो त सभामुखको विषय पेचिलो बन्दै गएपछि नेकपाले समानुपातिक सांसदको सूचीबाट शिवमायालाई फिर्ता बोलाउने तयारी थालेको छ । सोही तयारीसँगै उनले आफू राजीनामाका लागि तयार रहेको जनाऊ दिएकी छिन् । उनले राजीनामा नदिए उनलाई जसरी भएपनि फिर्ता बोलाउने योजनामा नेकपा रहेको छ । 

कित राजीनामा देऊ होइन भने समानुपातिक सूचीबाट हटन तयार होऊ भन्ने सन्देश नेकपाले शिवामायालाई जानकारी गराएको छ । पार्टी निर्णय नमानेको खण्डमा जसरी भएपनि उनलाई पदबाट हटाएर सभामुख पद सुरक्षित गर्ने योजनामा नेकपा रहेको छ । उता त्यसलाई रोक्न राष्ट्रपति भण्डारीले नेकपालाई नेताहरु छान छानी शितल निवास बोलाएर डिनर गराउने गरेकी छिन् । राष्ट्रपतिको अस्वभाविक चलखेल पछि नेकपाका नेताहरु समेत आजित बनेका छन् । 
 

प्रतिक्रिया दिनुहोस