अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वीको एक चक्कर पूरा गरेर पुुनः अस्ट्रेलिया पुग्न लग्यो : नासा

एजेन्सी

मंगलबार, २९ पुस २०७६, १६ : ४२
अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वीको एक चक्कर पूरा गरेर पुुनः अस्ट्रेलिया पुग्न लग्यो : नासा

एजेन्सी । नासाका अनुसार अस्ट्रेलियाको भयङ्कर डढेलोको धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गरेर पुुनः अस्ट्रेलिया पुग्न लागेको छ । 

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रभरी महिनौँदेखि जारी डढेलोले भीषण रूप लिँदा त्यसको धुवाँ प्रशान्त महासागरको आकास हुँदै अघि बढेको थियो । 

नासाका अनुसार अस्ट्रेलियाबाट निस्किएको धुवाँ दक्षिण अमेरिकाको आकाशमा पुगिसकेको छ जसले गर्दा त्यस क्षेत्रको आकास अहिले कुहिरीमण्डल छ । 

नासाका अनुसार जनवरी ८ भित्रै धुवाँ पृथ्वीको आधा भाग पुगिसकेको थियो । 
‘अस्ट्रेलियाको धुवाँले विश्वको कम्तीमा एक चक्कर लगाउने आँकलन छ,’ अमेरिकाको सरकारी अन्तरिक्ष एजेन्सीले बतायो । 

अस्ट्रेलियाका डढेलोमा हालसम्म २८ व्यक्तिको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घर नष्ट भएका छन् । 
विज्ञका अनुसार जलवायु परिवर्तनका कारण डढेलोको स्तर र तीव्रता बढेको छ । 

धुवाँले कसरी विश्वको चक्कर लगायो ?
नासाका अनुसार पछिल्लो डढेलोको ज्वाला यति ठूलो थियो कि त्यसको ‘असाधारण ठूलो’ ज्वालाले मेघयुक्त आँधी सिर्जित गरायो । 
यसले धुवाँलाई वायुमण्डलको माथिल्लो भाग ‘स्ट्राटोस्फेयर’ सम्म पुर्‍यायो । केही त १७.७ किमिको उचाइसम्म माथि पुगेको थियो । 

‘स्ट्राटोस्फेयर पुगेका धुवाँ हजारौँ किमि टाढासम्म यात्रा गर्न सक्छन् । यसले विश्वभरको वायुमण्डलीय अवस्थालाई असर पुर्‍याउन सक्छ,’ नासाले बतायो । 
नासा अहिले त्यस उचाइमा पुगेको धुवाँले ‘वायुमण्डलमा पुर्‍याउने ठण्डा वा न्यायो असरबारे निश्चित गर्न’ अध्ययन गरिरहेको छ । 

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा अझै पनि सयभन्दा धेरै स्थानमा डढेलो लागिरहेको छ । तथापि पछिल्लो केही दिनमा बढेको चिसो र वर्षाको पूर्वानुमानमाझ अग्नि नियन्त्रणको प्रयासमा आशा बढेको छ । - बीबीसी