तीस वर्षमै सिरियामा इजरायलको सबैभन्दा ठूलो आक्रमण, रुस र अमेरिकाद्वारा चिन्ता व्यक्त

सोमबार, २९ माघ २०७४, ०७ : २९
तीस वर्षमै सिरियामा इजरायलको सबैभन्दा ठूलो आक्रमण, रुस र अमेरिकाद्वारा चिन्ता व्यक्त

काठमाडौं । इजरायलले सिरियामा तीस वर्षकै सबैभन्दा ठूलो हमला गरेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले बीबीसीलाई  बताएअनुसार सो हमलामा दमास्क नजिकै १२ सैन्य क्षेत्रलाई लक्षित गरिएको थियो । रुस र अमेरिकाले भने यसबारे गम्भीर चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।

इजरायली सेनाले पहिलोपटक सिरियामा ईरानको सैन्य क्षेत्र पत्ता लगाएर आक्रमण गरेको बताएको छ ।  यसअघि शनिबार सिरियाली सेनाले इजरायलको लडाकू विमानलाई ध्वस्त पारेको थियो ।

सिरियाली गोलीको शिकार भएपछि सो विमान इजरायली क्षेत्रमा खसेको बताइएको छ । उता इजरायली सीमामा ठूलो हिंसालाई लिएर चिन्तित बनेका रुसका राष्ट्रपति पुटिनले इजरायलका प्रधानमन्त्रीसँग फोनवार्ता गरि सिरियाली युद्धमा संलग्न नहुन आग्रह गरेको बताइएको छ ।  

यसबारे इजरायली सेनाका प्रवक्ता, जोनाथन कोनरीकसले भने, ‘हामीले मुख्यगरी १२ भिन्दाभिन्दै क्षेत्रलाई लक्ष्य गरेका थियौँ जसमध्ये ८ तिनै हुन् जसले इजरायली विमानलाई निशाना बनाएका थिए । यसबाहेकका ४ क्षेत्रहरु सिरिया भित्र रहेका इरानी सैन्य क्षेत्रहरुमा पर्दछन् ।’

इजरायलले सिरिया भित्र रहेको सैन्य क्षेत्रलाई मात्र आफूहरुले निशाना बनाएको बताइरहेपनि यसले ठूलो हिंसा निम्त्याउन सक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ ।

यसअघि इजरायलको लडाकू विमान विनाश गरिएपछि प्रधानमन्त्री बेन्जामिन नेतानहायूले इजरायल विरुद्ध इरानका सबै प्रयासहरु विफल पारिने बताएका थिए ।

उनका अनुसार सो विमानले इजरायली सीमामा घुसेको ड्रोनलाई लक्षित गरेको थियो । उनले भने, ‘ईरानले इजरायलको विनाशका लागि अहिले सिरियाली मैदानको प्रयोग गरिरहेको छ । त्यसैले मैले लामो समय देखि नै सिरियामा रहेका ईरानी सेनाको क्रियाकलाप बारे चेतावनी दिँदै आएको छु ।’

प्रतिक्रिया दिनुहोस