बेलायतका राजकुमार ह्यारीले किन त्यागे राजदरबार ?

एजेन्सी

विहीबार, २४ पुस २०७६, १२ : १७
बेलायतका राजकुमार ह्यारीले किन त्यागे राजदरबार ?

एजेन्सी । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी डचिस मेगनले राजपरिवारको दरबारमा नबस्ने घोषणा गरेका छन् । ह्यारी दम्पत्तीले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै काम पनि गर्ने जनाएका छन् । एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले बेलायत र उत्तर अमेरिका दुवैतिर जता पनि बस्न सकिने उल्लेख गरेका छन् । 

उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि राजकुमार ह्यारीले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेकाले महारानी एलिजाबेथ सहित बकिङ्गम प्यालेस रुष्ट बन्न पुगेको एजेन्सीहरुको खबरमा उल्लेख छ । राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको यो घोषणाबाट मर्माहत भएका छन् ।

गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेगनले आफुहरुको प्रेम र विवाहलाई लिएर सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए । बुधवार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा उनीहरुले धेरै महिना सोचविचार र छलफल गरेर यो निर्णय गरेको उल्लेख गरेका छन्।

उनीहरूले विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन्। ह्यारी र मेगनको विवाह मे २०१८ मा भएको थियो ‘हामी राजपरिवारका ’वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ।’, राजकुमार ह्यारीले भनेका छन् । 
 

प्रतिक्रिया दिनुहोस