नयाँ वर्ष मनाउन खिचरा महोत्सव

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, १५ : २९
नयाँ वर्ष मनाउन खिचरा महोत्सव

चितवन । माघ १ गते आदिवासी थारुहरुको नयाँ वर्ष हो । पश्चिमी नेपालका थारु समुदायले माघीको रुपमा मनाउने नयाँ वर्ष पूर्वी र मध्य नेपालका थारुहरुले खिचराको रुपमा मनाउने गरिन्छ ।

चितवनका थारु समुदायले नयाँ वर्ष मनाउन बर्सेनी आयोजना हुँदै आएको खिचरा महोत्सवको सातौँ संस्करण पुस २७ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिकामा हुन गइरहेको छ ।

खिचरा महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ खैरहनीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी खिचरा महोत्सवबारे जानकारी गराएको हो । महोत्सवमा १ सय ५० वटा स्टल रहने महोत्सव आयोजक मूल समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा थारु समुदायको ब्रह्मथान, थारु गाउँको नमुना, घोँगी र चिचरका विशाल मूर्ती विशेष आकर्षणका रुपमा रहने छन् ।

थारु अगुवा वासुदेव चौधरीले ब्रह्मथान थारु समुदायको सामूहिक पूजास्थल भएको जानकारी दिए । उनका अनुसार ब्रह्मथानमा धान रोप्ने बेला असारमा र धान काटेपछि मंसिरमा सामूहिक पूजा गरिन्छ । खिचरामा थारु समुदायले अनदीको चामलबाट बनाइने विशेष परिकार चिचर खाने गर्छन् ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका जोखा चौधरी, ललित चौधरी, चन्द्राकुमारी चौधरी लगायतले महोत्सवको आयोजना र थारु सँस्कृतिबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस