भेष बदलेपनि भाग्न सकेन कुख्यात अपराधी साईँलो...

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, ०८ : ०५
भेष बदलेपनि भाग्न सकेन कुख्यात अपराधी साईँलो...

काठमाडौँ ।  २०६७ सालदेखि नै साईलो अर्थात दुर्गाबहादुर तामाङ विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनी आपराधिक क्रियाकलाप र गुण्डागर्दीमा संलग्न थिए । प्रहरीले त झन उनलाई कुख्यात अपराधीको सुचीमा नै सुचीकृत गरेको छ ।

२०६७ सालमा नै एक हत्याको घटनामा उनी दोषी ठहर भए । पाँच बर्षको कैद तोकिएको थियो । तर फरार हुँदै आए । उनले २०६९ सालमा अर्काे हत्या काण्ड मच्चाए । साना तिना धेरै आपराधिक घटना घटाएका उनले २०७६ सालमा हतियार देखाएर ६ लाख रुपैयाँ लुट्न सफल भए । तरपनि पक्राउ परेका थिएनन् । उनी धादिङको उत्तरी भेगमा घटना घटाउने अनि भेष बदलेर र पहिचान बदलेर प्रहरीको आँखा छल्दै आएका थिए ।

तर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको आँखा भने यसपटक उनले छल्न सकेनन् । पोखरामा भाग्दै र लुक्दै गर्दा उनलाई व्यूरोको टोलीले अन्ततः पक्राउ गरेरै छाड्यो । साईलोलाई पोखराबाट थप कारवाहीका लागि धादिङ प्रहरीमा बुझाइएको छ ।

सिआईवीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार २०६७ सालमा उनले धादिङको दार्खास्थित पातलेभिरमा धारिलो हतियारले हानेर स्थानीय शिव थापाको हत्या गरेका थिए । उक्त घटनामा दोषी प्रमाणित भई उनलाई जिल्ला अदालत धादिंगले पाँच बर्ष कैद सुनाएको थियो । तर फरार भएकाले कैद भुक्तानी भएन् । उनले २०६९ सालमा पनि सोही ठाउँकोे रातमाटेमा भिषण सिंखडालाई हत्या गरेको आरोप प्रहरीको छ । त्यो बेला उनले केही सहयोगी लिएर घटना घटाएका थिए । 

उनको आपराधिक क्रियाकलाप यतिमै रोकिएन् । २०७६ सालमा पूर्णबहादुर, मनोज र बबिन तामाङको सहयोगमा उनले जिल्लाको खनियाबासमा कैलास दिक्षितलाई घेरा हाले । खकुुरी देखाई ज्यान मार्ने धम्की दिँदै उनीसँग भएको छ लाख लुटेर भागेका थिए ।

त्यसपछि उनको खोजतलास सिआईवीले बाक्लो बनाएको थियो । उनलाई भेष बदलेर नाम पनि अर्के राखेको अबस्थामा कास्कीको पोखरास्थित खुट्टेगौडाबाट पक्राउ गरिएको सिआइवीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस