काँग्रेसी थलो गीतानगरमा प्रचण्डको भव्य स्वागत

शुक्रबार, ०१ मंसिर २०७४, १५ : ३०
काँग्रेसी थलो गीतानगरमा प्रचण्डको भव्य स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनको उम्मेदवार पुष्पकमल दाहाललाई नेपाली काँग्रेसको गढ भनिने गीतानगरमा शुक्रबार भव्य स्वागत गरिएको छ । गीतानगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पैसाको बलमा चुनाव जित्ने सपना देखेका मान्छेबाट देश निर्माण हुन नसक्ने बताए । 

उनले आफू इमान्दारीसाथ चुनावी प्रतिष्पर्धामा भाग लिने प्रतिवद्धता जनाउँदै आदर्श र निष्ठाका मान्छेको जमातबाट मात्रै देश बन्ने उल्लेख गरे । विपक्षीले पैसा बाँडेर भोट खरिद गर्न थालेको सूचना आफूले पाएको जानकारी दिँदै प्रचण्डले कोही कसैले पैसाको प्रलोभनमा अमूल्य मत बिक्री गर्ने काम गरेमा त्यो देशका लागि दुर्भाग्य हुने बताए । 

दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताए । आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको दाहालले बताए । पहिलो संविधान सभा निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौंबाट उम्मेदवारी दिएको भन्दै उनले दोस्रो संविधान सभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौंबाट उम्मेदवारी दिएको बताए । राजनीतिक एजेण्डा सिद्धिएको भन्दै उनले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि चितवनबाट भएको प्रष्ट पारे ।

बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उनले कांग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु ती दुबै नेताको अपमान हुने बताए । नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको भन्दै उनले यसमा साथ दिन आमसमुदायलाई आग्रह गरे ।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत पश्चिम चितवनको गीतानगरस्थित बीपीचोकमा भएको कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने बताए । केही कांग्रेसका पुराना नेताको नाम लिंदै उनले उनीहरुको राजनीतिक त्यागको प्रशंसा गर्नुपर्ने बताए । 

काँग्रेसको गढका रुपमा मानिएको गीतानगरमा काँग्रेसीहरुले पनि उनलाई घरदैलोमा पुग्दा घर अगाडि घडा राखेर फूलमाला र अबिरले भव्य स्वागत गरेका थिए । घरदैलोमा पुराना काँग्रेसका नेता, युवा, महिला तथा प्रौढहरुले चितवनको नेता बल्ल पाएको भन्दै आफूहरुले साथ दिने वचन दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस