कविता : नयाँ वर्ष

बुधबार, १६ पुस २०७६, ११ : ५४
कविता : नयाँ वर्ष

- केदार शर्मा

नयाँवर्ष
एक्लै मुसुमुसु हाँस्दै
ठ्याक्क आफ्न‌ै घरमा आउने भए पो
यसो गर्छु र उसो गर्छु भन्नु!
ऊ त सधैँ
ट्रम्पहरूको सनकको रकेट
मोदीहरूको षडयन्त्रको क्षेप्यास्त्र, र
ओलीहरूको अहङ्कारको रेल चढेर
सर्वाङ्ग थर्काउँदै आउँछ,

ऊ त सधैँ
ली ब्युङ चुलहरूका ग्याजेट
ल्यारी पेजहरूका प्रविधि
र चौधरीहरूका चाउचाउ बेच्दै आउँछ,
यो मध्य हिउँदमा आउने नयाँ वर्ष
कोसेलीमा एउटा घरबुना राडी होइन
चिनियाँ ब्ल्याङ्केटहरूको बाढी लिएर आउँछ

अनि म कामना गर्छु
बस् अडिन सकूँ
उभिन सकूँ
आफ्न‌ै बलमा, आफ्न‌ै भरमा
मन लागेका पाखारेखामा हिँड्न सकूँ
र तिमीतिर हेरेर मुस्काउन सकूँ!

प्रतिक्रिया दिनुहोस