कविता : सर्दी

मंगलबार, १५ पुस २०७६, १३ : ०१
कविता : सर्दी

– भूपीन खड्का

विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेशलाई सर्दी लागेको छ 

अब कुरा गर्दा गर्दै मानिसका आवाजहरू जम्नेछन्
बहँदा बहँदै हावा जम्नेछ
बग्दा बग्दै नदी जम्नेछ
चुलोमा बलिरहेको आगो जम्नेछ ।

अब मुटु जम्नेछ छातिको कोठामा
रगत जम्नेछ शरीरको नसानसामा
कोसँग गुहार माग्ने हामीले ?
चिच्याउँ भने पनि
घाँटिसम्म आएर आक्रोश जम्नेछ ।

आत्महत्याको लागि कतै पुलबाट हाम फालौँ कि ?
तर लाग्दैछ शरीर हावामै जम्नेछ
गुरुत्वबल जम्नेछ
यस्तो लाग्दैछ मुखसम्म आएर प्राण जम्नेछ ।

विकास बाबु
तिमीलाई कस्तो छ ?
मधेशलाई सर्दी लागेको छ 

यो मधेशमा
हतियार बोकेर आउँछन्
हरेक वर्ष सीमापारीबाट डाँकाहरूको हुल,
र रित्ता बाकस, भकारी र घरसँग क्रोधित भएर
बन्दुक पड्काउँदै फर्किन्छन् ।
यहाँ आउन बिराउने त अनाजको मूल्य हो, अस्पताल हो
यहाँ आउन बिर्सने त नागरिकता हो, अमन हो
आउनुपर्नेले पर्खाइरहने
र नआउनुपर्नेले तर्साइरहने यो मधेशमा
तीन हत्यारा छन्
जो नबिराई आइरहन्छन्
लु
बाढी
र शीतलहर ।
अहिले शीतलहर आएको छ ।

आउन त नबिराई आउँछन् आन्दोलन पनि मधेशमा
विद्रोहको भुसमा आगो सल्किन्छ
रंगभेद विरुद्ध मुठ्ठी उठ्छ ।
कहिलेकाहीँ भाला र बन्चरा लिएर
सडकमा उत्रिन्छन् मानिसहरू
मितेरी पुलमा ढुङगाको असिना बर्सिन्छ ।
देशै विरुद्ध नाकाबन्दी चल्छ
सभा चल्छ
शब्दहरूको पटाका पड्किन्छ ।

(भाषण कानबाट छिर्छ र पाखुराबाट निस्कन्छ ।)

आउन त नबिराई आउँछन् चुनाव पनि मधेशमा
मानिसहरू मतपेटिकामा
आफ्नो भविष्य जम्मा गर्छन्
मानौँ ती बाकस होइनन्
मानिसले सपना जम्मा गर्ने बैंक खाता हुन् ।
चुनाव परिणाम आउँछ
विजेता बन्छन् पहिचान यादव, संघिय ठाकुर र समावेशी महतो
देहात खुशीले अविर जात्रा गर्छ ।

तर जब माला र अबिर लगाएर
तिमीलाई ल्याउने वाचा गरी राजधानी छिर्छ चुनाव
उ बेपत्ता बन्छ ।

(र फेरी मत पेटिकामा अगाडी नलगाई कहिल्यै मधेश फर्किन्न ।)

थाहा छैन हामीलाई
विजेताहरू किन यसरी लठ्ठिन्छन् कुर्सिको वासनासँग
जसरी लठ्ठिन्छन् किराहरू मांसहारी फूलसँग
किन बदलिन्छन् ति विजेताहरू
जो हाम्रो लागि स्वर्गबाट आगो चोरेर ल्याउँछु भन्थे ।
विकास लिएर आउँछु भन्थे ।

विकास बाबु
कसैले नपत्याए पनि
यो राज्यलाई अरुले जत्तिकै माया गर्छौँ हामी पनि
र माया गर्छौँ तिमीलाई पनि ।
तर तिमी किन बोल्दैनौ हामीसँग ?
भन तिमी दरबारको कुन कुनामा निदाइरहेछौ ?
या प्रदेश सरकारको कुन फाइलमा उँघिरहेछौ ?
बाबा भन्थे
विकास फाइलमै जन्मिन्छ, फाइलमै च्यापिन्छ र फाइलमै मर्छु
के तिमी मरिसक्यौ ?

वर्षौँदेखि पर्खिरहेछौँ हामी तिमीलाई
मधेशलाई सर्दी लागेको छ ।

प्रतिक्रिया दिनुहोस