प्रचण्डको चुनावी प्रचारप्रसार

चितवनको विकास र राष्ट्रको नेतृत्व मेरो लक्ष्य : प्रचण्ड

शुक्रबार, ०१ मंसिर २०७४, ११ : ४१
चितवनको विकास र राष्ट्रको नेतृत्व मेरो लक्ष्य : प्रचण्ड

चितवन । यूगान्तकारी परिवर्तनमा उल्लेख्य भूमिका खेलेको चितवनले यसपटकको निर्वाचनमा आफूलाई विजयी गराउने अपेक्षा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । गीतानगर बजारमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले राजनीतिक कोर्ष पूरा गरिसकेको बताउँदै अबको कार्यभार तीब्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिको सुरूवात चितवनबाट सुरू गर्दै विकासको मोडलको रूपमा देशैभरी लागु गर्न पनि आफू चितवन आएको बताए । देश विकासको लागि स्थिर र शक्तिशाली सरकार नै आवश्यक पर्ने बताउँदै उनले बुढीगण्डकी परियोजनाको सम्झौता खारेजी त्यसको उदाहरण भएको विचार व्यक्त गरे । चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी प्रकरण विकास विरोधी र समृद्धि विरोधी कदम भएकाे बताउँदै सरकारकाे अालाेचना गरे ।

यसपटक वामपन्थीहरूको गठबन्धन केवल चुनाव जित्नैका लागि नभई वामपन्थी एकता र बलियाे सरकारका लागि भएको प्रष्ट पारे । उनले माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुँदैन कि भन्ने अाशङ्का नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले स्वर्गीय बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै हलो बोकेर काँग्रेसको सपना साकार नहुने बताए । लोकतन्त्रमा प्रतिस्पर्धा हुने स्वाभाविक भएको भन्दै प्रचण्डले गणतन्त्रविरोधी हलो बोकेर गणतन्त्रमाथि काँग्रेसले बेइमानी गरेको बताए ।

काँग्रेसका त्यागी र आन्दोलनमा लागेका राजनैतिक विचार भएका काँग्रेसकै नेताहरू रूख नै बोकेर चुनावमा नआएकोमा दु:ख ब्यक्त गर्दै अध्यक्ष प्रचण्डले गिरिजाबाबु जीवित हुनु भएको भए यस्तो नहुने दाबी गरे । देशको विकास र जिल्लाको विकास राजनेताले मात्र गर्न सक्ने बताउँदै उनले ठेकेदारहरूबाट देश विकासको कल्पनै गर्न नसकिने बताए । विगतमा आफू पहाड र मदेशको सम्बन्ध सुदृढ गर्न सिराहा गएको स्मरण गर्दै प्रचण्डले यसपटक देशको समृद्धिकाे सन्देश दिन चितवन आएको बताए ।

अध्यक्ष प्रचण्डले पॉच वर्षमा जिल्लाका सम्पूर्ण बाटा कालोपत्रे गरेर देखाउने बताए । उनले सुकुम्बासी समस्याको दिगो समाधान, हुलाकी मार्गको निर्माण, मेसजालीमार्फत जंगली जनावरको समस्या समाधन हुने बताए ।कार्यक्रममा प्रदेश ३ क का उम्मेद्वार कृष्ण भूर्तेल, राप्रपाका पूर्वजिल्ला अध्यक्ष बद्री तिमिल्सिना, नेकपा एमालेका केन्द्रीय सल्लाहकार देवी ज्ञवाली लगायतका नेताहरूले वाम गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरूलाई विजयी गराउन आह्वान गरेका थिए । बिहीबार बाहिरी जिल्लाहरूमा अायाेजित चुनावी सभाहरूलाई सम्बोधन गरी चितवन आएका प्रचण्ड शुक्रबार बिहानैदेखि घरदैलो तथा चुनावी कार्यक्रममा सहभगी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस