विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा युएईविरुद्ध मैदान उत्रँदै नेपाल

आइतबार, २८ माघ २०७४, १० : २६
विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा  युएईविरुद्ध मैदान उत्रँदै नेपाल

काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (आइतबार) बलियो टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । युएईविरुद्ध मैदान उत्रँदा नेपाल दोस्रो जितको खोजीमा रहनेछ । तर, युएईको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । किनकी पछिल्लो समय नेपाल युएईसँग स्तब्ध हुँदै आएको छ ।

पछिल्लो तीन खेलमा नेपाल युएईसँग लगातार हारेको छ । सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको छ ।

यता, नेपाललाई डिभिजन टु शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न युएईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपाल २  अंक जोडेर तेस्रो स्थानमा छ । समान २ अंक जोडेको युएई दोस्रो स्थानमा रहदा ४ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटको हार बेहोरेको थियो । यता, नेपालविरुद्ध मैदान उत्रदा युएई पनि दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा केन्यालाई हराएको युएई दोस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस