शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

शनिबार, २७ माघ २०७४, १६ : ५१
शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

रत्ननगर चितवन । चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ ।
सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडालाई आज बिहान सकुसल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

राती आवतजावत गर्ने क्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैँडा सेफ्टी ट्यांकीमा परेको थियो । राति हात्तीसहित निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैँडाको उद्धार गरेको उद्वारमा खटिनुभएका चितवन राष्ट्रिय निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । सेफ्टी ट्यांकीको बिर्को(ढकन) भासिन गई गैँडाभित्र पस्न पुगेको थियो ।

उहाँकाअनुसार सेफ्टी ट्यांकी भत्काई बाटो बनाएर गलको सहयोगमा गैँडालाई निकालिएको हो । यसैबीच चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुण्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।

यस्ता खाडल पुर्न र सेफ्टी ट्यांकी, गोबर ग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो ।

यस्ता खाल्डाखुल्डीमा बाघ, गैँडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस