पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता उद्घाटन

शनिबार, २७ माघ २०७४, १५ : १२
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता उद्घाटन

चितवन । भरतपुर महानगरपालिकाको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उद्घाटन शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ ।
प्रतियोगिताको उद्घाटनअघि धनौजीमा शोभा¥याली निकालिएको थियो । प्रतियोगिताको पहिलो दिन शनिबार तीन खेल खेलाइने छ । पहिलो खेलमा नेपालको बलियो टिम शिवम् न्यू डायमण्डले हरियाणा पुलिस टिम भारतको सामना गर्ने म्याच कमिसार लेखनाथ शर्मा पराजुलीले जानकारी दिनु भयो ।

दोस्रो खेलमा विभागीय टिम एपीएफले आईफ्याट बंगलादेशको सामना गर्नेछ । तेस्रो खेलमा अर्को विभागीय टिम नेपाल आर्मी र चितवन टाइगर टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, नेपाल आर्मी, चितवन टाइगर र बंगलादेश छन् भने समूह बी मा नेपाल पुलिस, न्यू डायमण्ड र हरियाण पुलिस भारत छन् । दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिनेछ ।


भरतपुर २२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा हुने प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिनुभयो ।
प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।


प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।


प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।

 

प्रतिक्रिया दिनुहोस