ग्रहणको दोष मेटाउन देवघाटमा पुगे हजारौँ भक्तजन

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १७ : १५
ग्रहणको दोष मेटाउन देवघाटमा पुगे हजारौँ भक्तजन

चितवन । बिहीबार लागेको खण्डग्रास सूर्य ग्रहणको दोष मेटाउन हजारौँको संख्यामा मानिसहरु देवघाट पुगेका छन् ।

खण्डग्रास सूर्यग्रहणको दोष मेटाउन भन्दै देवघाटमा पुगेका भक्तजनहरुले नदीमा स्थान गरि नदी किनारमा पुजापाठ, भजन किर्तन, नाचगान गरी ग्रहणको दोष मेटाएका हुन् ।

ग्रहण लागेका बेला भोजन गर्न नहुने र त्यसको दोष मेटाउन नदी तलाउ तथा धार्मिक क्षेत्रमा गई स्नान गरी पुजापाठ गर्नु पर्ने हिन्दुहरुको मान्यता छ । 

देवघाटमा हजारौँको संख्यामा भक्तजनहरु आएको र स्नानका लागि पालो कुरेर बस्नु पर्ने अवस्था सिर्जना भएको देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले बताउनु भयो ।

पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण बिहान ११ः३१ बजे समाप्त भएको थियो । करिब ४० प्रतिशत सूर्यसतह ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिएको हो । ग्रहण खुल्ला आँखाले हेर्न नहुने भएकाले ग्रहण हेर्नका लागि काठमाडौँको स्वयम्भुनाथमा मानिसहरुको भीड लागेको थियो । 

सूर्यग्रहण हेर्नका लागि त्यहाँ विशेष चश्माको पनि व्यवस्था गरिएको थियो । ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिकालगायत स्थानबाट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस