जोगिइन् बिहारमा बलि हुनबाट नेपाली युवती

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १६ : १६
जोगिइन् बिहारमा बलि हुनबाट नेपाली युवती

काठमाडौँ । भारत विहारमा रहेका एक बाबाले बलिको लागि नेपाली युवती ल्याउन भने । युवती कस्तो हुनुपर्ने ? ६ फिट अग्लो उचाइ चाहिने, मासु र रक्सी खान नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने । यस्तो नेपाली युवती ल्याउन बिहारका बाबाले आदेश दिए । उनले मोटो रकमको आश्वासन दिए । 

मोटो रकमको आश्वासन पाएपछि एउटा गिरोह यस्तो युवतीको खोजीमा लाग्यो  । गिरोहले भनेजस्तो युवती पायो, तर त्यो गिरोहले डकुमेन्ट्री छायांकनको लागि भारतको विहार जानुपर्ने, मासु रक्सि खान नहुने, पूजापाठ गर्नुपर्ने भनेपछि युवतीमा शंका लाग्यो । त्यही शंकाले उनलाई प्रहरीसम्म लग्यो र अन्तिममा युवतीलाई बलिको लागि लैजाने गिरोह प्रहरीको फन्दामा परेको छ । 

महानगरीय प्रहरी परिसर टेकुले बिहीबार पत्रकार सम्मेलन गरी बलिको लागि युवतीलाई विहार लैजाने गिरोह पक्राउ गरेको जनाएको छ । प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको समेत जानकारी दिएको छ । 

मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ । 

बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि पक्राउ परेकाहरुलाई परिचालन गरेको खुलेको छ । ती बाबाले युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ । 

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको प्रहरीको भनाइ छ । 

युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । 
 
उनीहरुको डकुमेन्ट्री बनाउने प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । प्रहरीका अनुसार युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । 

पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । त्यसकारण यसका प्रमुख पात्र भने भारत बिहारका एक बाबा रहेको प्रहरीको दाबी छ । प्रहरीले बाबाको पहिचान भने खुलाएको छैन । 

डकुमेन्ट्री निर्माणको विषय सबै बनावटी योजना भएको र युवतीलाई भारत पुर्याउन रचिएको नाटकमात्रै भएकोसमेत प्रहरीको दाबी छ ।  गिरोहमाथि युवतीको शंका र प्रहरीको चलाखीका कारण ठूलो अपराध हुनबाट जोगिएको छ । 

यसरी पुगिन् युवती प्रहरीसामु

पुस ४ गते दिउँसो झापाकी एक युवती हतार–हतार महानगरीय प्रहरी परिसर काठमाडौँ पुगिन् । जानेबित्तिक्कै प्रहरी भेट्न पाइनन् । ३० मिनेट बाहिरै बसिन् । उनले काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई भेट्न आएको बताइन् । केहीबेर अझ समय लाग्यो ।  एसएसपी सुवेदीलाई पर्खेर बाहिर नै बसिरहिन् युवती । ३० मिनेट बाहिर बसेकी युवतीलाई एसएसपी सुवेदीले भित्र आउन भने । भित्र छिरेपछि एसएसपी सुवेदीले ‘तपाईंहरुको समस्या के हो ?’ भनेर प्रश्न गरे ।

‘मोडलिङमा लगाइदिन्छु भन्दै एउटा समूहले भारत–नेपाल बोर्डरमा लगेर सुटिङ गर्नुपर्ने भनेपछि शङ्का लागेर यहाँ आएको’ युवतीले भनिन् । उनीहरुले भनेको बयानलाई सबै बेलिविस्तार गरिन् र आफूलाई ठूलो शंका लागेको बताइन् । त्यसपछि प्रहरीले ती युवतीबाटै मोडलिङमा लगाइदिन्छु भन्ने गिरोहको फलो गर्न थाल्यो । आखिरी प्रहरीले त्यो आपराधिक गिराहलाई समात्न सफल भयो । 

यसो भन्छिन् ती युवती 

एक हप्ताअघि मंसिरको अन्तिम साता काठमाडौँमा एक फेसनहाउस सञ्चालन गर्दै आएकी महिलाले फोन गर्नुभयो । फोनमा उहाँले ६ फिट हाइट भएको मोडल चाहिएको छ, काम गर्ने हो भनेर सोध्नुभयो । मैले हुन्छ भने । उहाँले कतै भेटेर कुरा गरौँ भन्नुभयो । मैले अफिसमै भेट्न आउनु भनेँ ।  मेरो अफिसमै आउनुभयो । उहाँसँग ५ जना केटाहरु पनि थिए । एउटा प्रोजेक्टको क्रममा ती महिलालाई मैले ६ महिनाअघि चिनेको थिएँ । 

गत बिहीबार राति घरमा खाना खाएर यत्तिकै बसिरहेको थिएँ । फोन आयो । फोनमा उसले अस्ती दिदीसँग आउँदा भेट भएको बताउँदै सम्झना गरायो । उसले मासु–रक्सी खान्छौँ कि खान्नौँ ? महिनावारी भएको छ कि छैन ?’ भनेर सोध्यो । मासु–रक्सी पनि खान्न, महिनावारी पनि भएको छैन भनेँ । तर, मलाई प्रश्न अनौठो लाग्यो ।

‘यस्तो प्रश्न किन गर्नुभएको’ भनेर त्यो केटालाई सोधेँ । ‘नेपाल–भारत बोर्डरतिर गएर पूजा गर्नुपर्छ । फेरि त्यस्तो छ भने हाम्रो कुल देवताले मान्नुहुन्न,’ उसले भन्यो । मेरो हाइट नाप्ने काम पनि भयो । 

बारम्बार प्रोजेक्टको लागि भनेर फोन गर्न थालेपछि ‘काम गर्ने हो भने एग्रिमेन्ट गरौँ’ भनेर भनेँ । तर, उनीहरुले एग्रिमेन्ट गर्न आनाकानी गरिरहे । कामको सबै फर्म्याट दिनु भनेँ । उनीहरुले त्यो पनि केही दिएनन् ।

सुरुमा मलाई सबैजना नेपाली हुन्छन् । ३०–३५ जनाको ग्रुपमा काम गर्ने हो भनेका थिए । एक रात फोनमा फेरि ‘तिमी मात्रै एक्लै हो’ भन्यो । त्यसपछि मलाई शङ्का लाग्न थाल्यो र प्रहरीसम्म आएँ । 

यस्तो थियो प्रहरी अपरेसन

युवतीकाृ सबै कुरा सुनिसकेपछि एसएसपी सुवेदीले तत्कालै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न परिसरका प्रवक्ता होविन्द्र बोगटीलाई निर्देशन दिए । त्यसपछि महानगरीय प्रहरी परिसरका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा ५ जना प्रहरीको टोली युवतीलाई साथमै लिएर मोरङतर्फ हिँड्यो ।

इन्सपेक्टर ठकुरीको टोलीले मोरङमा पूरै सर्च अपरेशन चलायो । तीन दिनको अथक प्रयासपछि  टोलीले घटनामा संलग्न ६ जनालाई विराटनगरबाट पक्राउ गरेर मङ्गलबार साँझ काठमाडौँ ल्याएको छ ।